प्रधानमन्त्री ओली भोलि स्वदेश फर्किने

 प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्य उपचार प्रक्रिया आज टुंगिने उनको सचिवालयले जनाएको छ । उनको रगत जाँचलगायतको रिपोर्ट आज आउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बाह्रखरीसँगको कुराकानीमा जनाएका छन् । 

उनका अनुसार चिकित्सकसँगको परामर्शपछि प्रधानमन्त्री ओली भोलि १२ः३० बजे स्वदेश फर्किने अहिलेसम्मको तयारी रहेको छ ।

रिपोर्टपछि चिकित्सकहरुले कुनै सुझाव दिएमा सोहीअनुसार हुने भएकोले बेलुकासम्ममा सम्पूर्ण जानकारी आउने डा. अर्यालले जानकारी गराए ।

प्रधानमन्त्री ओली यही भदौ ५ गते दोस्रोपटक स्वास्थ्य उपचारका लागि सिंगापुर गएका हुन् । त्यसअघि उनी साउन १८ गते सिंगापुरमा उपचार गर्न गएकोमा स्वदेश आएको केही समयपछि नै भदौ ५ गते पुनः उपचारका लागि त्यसतर्फ गएका हुन् । 

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले गएको अगस्ट २८मा ट्विट गर्दै प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको र उपचार प्रक्रिया अर्को साता सम्ममा पूरा हुने जनाएका थिए ।  उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको समेत त्यतिबेला जनाएका थिए ।