बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा लिन छाडेपछि व्यापारी तथा स्थानीयहरु समस्यामा पर्न थालेका छन् ।
वित्तीय व्यवस्थापनका लागि चलनचल्तीमा ल्याइएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने सम्भावना देखिन थालेको छ ।
नेपालमा पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले वित्तीय व्यवस्थापनका लागि उत्पादन गर्दै आएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने अवस्था देखिएको हो । उत्पादन गरेका सिक्का पैसा बैंक तथा वित्तीय सस्थाहरुले नै लिन छाडेका छन् ।
ग्राहकको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकहरुलाई दिने गरेको भए पनि ग्राहकको सङ्कलन भएको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरु लिन मान्दैनन् ।
बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको माग र सानो २र४ रुपैयाँको कारोबारमा सिक्का नै दिँदै आएका छन् । तर, त्यही सिक्का ग्राहकले जम्मा गर्न वा साट्न गए बैंक तथा वित्तीय संस्थाहरुले नसाट्ने गरेको गुनासो स्थानीयले गर्न थालेका छन् ।
पुरानो चल्तीमा १, २ रुपैयाँ आउँथ्यो, अहिले पाँच रुपैयाँभन्दा सानो त्यही सिक्का मात्र आउँछ । तर, त्यो सिक्का अहिले बजारमा न त ग्राहकले फिर्ता लिन्छन् न त व्यापारीहरुले नै ।




