सन्दिप लामिछाने पहिलो रोजाईमा पर्न कठिन (यस्ता छन् कारण)

सिजन २०२० आइपिएल क्रिकेटका लागि दिल्ली क्यापिटल्सले अनुभवी स्पिनर रविचन्द्रन आस्विनलाई आबद्ध गर्न प्रक्रिया अघि बढाएको छ।

किंग्स-११ पञ्जावका कप्तान आस्विनलाई भित्र्याउन दिल्लीसँगै सनराइजर्स हैदरावादले पनि इच्छा देखाएको छ। यद्यपी हैदरावादको प्रस्ताव अघि बढ्न सकेको छैन। आस्विनको विषयमा दिल्ली र पञ्जावबीच पछिल्ला महिनामा छलफल भएको बताइएको छ।

आस्विनको विषयमा दिल्ली र पञ्जावबीच पछिल्ला महिनामा छलफल भएको बताइएको छ।

२०१८ को सिजनमा आस्विन ७.६ करोड भारुमा पञ्जावमा आबद्ध भएका थिए। आबद्ध भए लगत्तै उनलाई पञ्जावले कप्तानको जिम्मेवारी दिएको थियो।

आस्विन दिल्ली गएको अवस्थामा उनी चौथो आइपिएल टिमबाट खेल्नेछन्। यसअघि उनले पञ्जावसँगै चेन्नइसुपर किंग्स र राइजिङ पुने सुपरजाइन्टबाट खेलेका थिए।

३२ वर्षीय आस्विन आइपिएलका सफल स्पिनरमा पर्छन्। पावर प्लेमा र डेथ ओभरमा आस्विन प्रभावशाली देखिदै आएका छन्। उनले आइपिएलका १३९ खेलमा १२५ विकेट लिइसकेका छन्।

आस्विन दिल्ली आए उनी टिमका आठौं स्पिनर हुनेछन्। दिल्लीमा अहिले नै सात जना स्पिनर छन्। जसमा अक्षर पटेल, अमित मिश्रा, राहुल टेवाटिया, जलाज सक्सेना, मायंक मार्कण्डे, जे सुचिथ र सन्दीप लामिछाने छन्।

दिल्लीमा स्पिनरको संख्या बढ्दै जाँदा नेपालका लेगस्पिनर सन्दीपलाई पहिलो रोजाइको टिममा पर्न कठिन बन्ने देखिएको छ।

यसअघि २०२० कै सिजनका लागि मुम्बई इन्डियन्सका २१ वर्षीय लेगस्पिनर मार्कण्डे दिल्लीमा आबद्ध भएका थिए। जससँगै तीन वर्षे सम्झौताको अन्तिम सिजनमा रहेका सन्दीपलाई पहिलो रोजाइमा पर्न झन् गाह्रो हुने देखिएको थियो।

मार्कण्डेले २०१८ को सिजनमा मुम्बईका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। गत सिजन भने उनले ३ म्याच मात्र खेलेका थिए।

यो अवस्थामा दिल्लीमा आएका मार्कण्डेको मुख्य प्रतिस्पर्धा सन्दीपसँग हुनेछ। अझ अनुभवी स्पिनर आस्विन आउँदा स्पिनरको कोटामा झन् प्रतिस्पर्धा हुने देखिएको छ।

दुई वर्ष अघिको सिजनमा उत्कृष्ट खेलेका मार्कण्डे भारतीय भएकाले उसैपनि गत सिजनमा आधा भन्दा बढी खेल्न नपाएका सन्दीपले टिममा पर्न कडा प्रतिस्पर्धा गर्नु पर्नेछ।

पछिल्लो समय सन्दीपको प्रदर्शनको खस्कदै गएको छ। त्यसैले विदेशी खेलाडीको रुपमा दिल्लीको पहिलो रोजाइमा पर्न सन्दीपले प्रदर्शनमा थप सुधार गर्ने पर्नेछ।

यस्तै सन्दीपले अर्को टिम खोज्नु पर्ने विकल्प रोज्नु पर्ने अवस्थामा पनि हुन सक्छ। सन्दीपले गत सिजन दिल्लीबाट ६ खेल खेल्दै ८ विकेट लिएका थिए।