विन्ध्यवासिनी मावि अध्यक्षमा चन्द्रा

बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चन्द्रा थापा चयन भएकी छन् । अभिभावक भेला र वडा शिक्षा समितिबाट सदस्य सिफारिस भएपछि बसेको बैठकले अध्यक्षको जिम्वेवारी फेरि थापालाई नै दिएको हो ।

समितिका सदस्यमा गुरुदत्त भट्टराई, यदुनाथ बञ्जरा, हीराकुमारी अधिकारी, शंकर बस्नेत र नवीन अधिकारी छन् । वडाध्यक्ष जीवनप्रसाद आचार्य पदेन सदस्य र प्रधानाध्यापक कृष्णप्रसाद आचार्य सदस्य सचिव छन् । समितिमा प्रतिनिधित्व गर्ने शिक्षक प्रतिनिधि भने छनोट गर्न बाँकी छ ।

महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा गुरुदत्त भट्टराई, निर्माण समिति संयोजकमा नवीन अधिकारी, शैक्षिक गुणस्तर तथा विकास उपसमिति संयोजकमा शंकर बस्नेत, खरिद तथा बिक्री उपसमिति संयोजकमा यदुनाथ बञ्जरा, क्यान्टिन तथा खाजा व्यवस्थापन उपसमिति संयोजकमा हीराकुमारी अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

थापाले आफूलाई अभिभावक र वडाले विश्वास गरेर पुनः जिम्मेवारी दिएकोमा खुसी व्यक्त गरिन् । विद्यालयमा बाँकी शैक्षिक सुधार र भौतिक निर्माणलाई पूर्णता दिई नमुना विद्यालय बनाउने प्रतिबद्धता उनले व्यक्त गरिन् । ‘विद्यालयको संरक्षण र स्वामित्वमा रहेका महेन्द्र गुफा र चमेरे गुफाको बृहत्तर विकासका लागि गुरुयोजनालाई कार्यान्वयनमा ल्याइनेछ,’ उनले भनिन् ।