ताजा समाचार

भाद्र १८ गते २०७६

मानव सेवा आश्रम पुरस्कृत

खुला आकाशमुनि रात बिताउन विवश घरबार विहीन, बेसहारा तथा जीवन नै जोखिममा रहेकालाई साहारा दिँदै आएको मानव सेवा आश्रम पुरस्कृत भएको छ । डागर स्मृति प्रतिष्ठानले मंगलबार पोखरामा आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेश उपसभामुख सिर्जना शर्माले आश्रमलाई १० हजार ५ सय र सम्मानपत्र प्रदान गरिन् ।

कार्यक्रममा उपसभामुख शर्माले राज्यले गर्नुपर्ने काम आश्रमले गर्दै आएको बताइन् । उनले भनिन्, ‘तपाईहरुले राज्यले गर्नुपर्ने काम गरिरहनुभएको छ । आश्रमलाई राज्यले उचित सहयोग गर्नुपर्छ ।’ उनले जनस्तरबाट बनेका विभिन्न संघ, संस्थाले कला, साहित्य, संस्कृति र समाजसेवामा उल्लेख्य योगदान गरिरहेको बताइन् ।

मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले मानव भएर पनि मानवीय आवश्यकतासमेत पूरा नभएका, खुला आकाशमुनि रात बिताउन विवश घरबार विहीन, बेसहारा तथा जीवन नै जोखिममा रहेकालाई साहारा दिइरहेका बताए । उनले भने, ‘आश्रममा करिब ९ सयले आश्रय पाएका छन् भने करिब ७ सय जनालाई परिवारमा पुनर्मिलन गराइएको छ ।’ २०६९ भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सुरु भएको आश्रम अहिले नेपालका सातै प्रदेशका १३ जिल्लाका १५ स्थानमा छ । २०७४ चैत १७ गते पोखरामा पनि आश्रमले सञ्जाल विस्तार गरेको छ ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले आश्रमले मानवसेवाको क्षेत्रमा उल्लेखनीय योगदान गरिरहेको बताए । उनले जनस्तरको सहयोगबाट मात्र यस्ता संस्था सधै चल्न सम्भव नभएकाले राज्यले उचि सहयोग गर्नुपर्नेमा उनले जोड दिए । प्रतिष्ठानका संरक्षक रमा परासरले समाजसेवा र संस्कृतिको संरक्षण, संवद्र्धन गर्नेहरुलाई प्रोत्साहन गर्ने प्रयास गरिरहेको बताइन् ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष विन्दु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सचिव सरिता तिमिल्सिना पंगेनी, कोषाध्यक्ष पुष्पकुमारी आचार्य लगायतले बोलेका थिए ।

समाजसेवी राजन प्रासर डागरको स्मृतिमा स्थापित यस प्रतिष्ठानले समाजसेवा र साहित्यको क्षेत्रमा क्रियाशील व्यक्तित्व एवं संस्थालाई पुरस्कृत गर्दै आएको छ । यसअघि यो पुरस्कारबाट आरएम डंगोल, विश्वमोहन गौचन, चन्द्रा गुरुङ, रामबहादुर पौडेल, भीम रानाभाट, गोविन्दराज पहारी, हरिश्चन्द्र शर्मा, हिमाली सांस्कृतिक परिवार र सोनाम साङ्पो पुरस्कृत भइसकेका छन् ।


Loading...