‘ह्याकरले लुटेका सबै रकम सुरक्षित’

नेपालको एटीएम प्रणाली ह्याक गरेर चोरिएको सबै रकम बरामद गरेको प्रहरीले दावी गरेको छ ।

नेपाल राष्ट्र बैंकले चोरी भएको बताए अनुसारको रकम बरामद भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

उनले भने, ‘सोमबार ठमेलबाट ३ जना मनी एक्सेजर पक्राउ परेसँगै केही रकम पनि बरामद भयो र राष्ट्र बैंकले चोरी भएको भने बराबरको रकम भेटिएको छ ।’

राष्ट्र बैंकले विभिन्न बैंकको एटीएम प्रणाली ह्याक गरेर १ करोड ६८ लाख रुपैयाँ चोरिएको जनाएको थियो ।

प्रहरीले शनिबार मध्यराति चलाएको अपरेशनबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि बरामद गरेको थियो । तस्वीर : रातोपाटी