ताजा समाचार

भाद्र १६ गते २०७६

कास्कीको हर्पनमा तीज मेला सकियो

कास्कीको पर्यटकीय गाउँ हर्पनमा संचालित तीज मेला सोमबार सकिएको छ । नीलगगन विकास समाजले आयोजना गरेको मेलाको गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले समापन गरेका हुन् ।

उक्त अवसरमा पहारीले ग्रामिण क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि यस्ता मेला र महोत्सव प्रभावकारी हुने बताए । उनले भ्रमण वर्ष २०२० को सफलताका लागि युवाको नेतृत्वमा थप सृजनशील कार्यक्रम गरिनुपर्ने खाँचो औंल्याए ।

मेलामा खुला तीज गीत प्रतियोगिता, खुला पुरुष वडास्तरीय भलिवल प्रतियोगिता तथा छेलो प्रतियोगिता आयोजना गरिएको थियो ।

समाजका अध्यक्ष वैकुण्ठ पौडेलका अनुसार भलिवल प्रतियोगितामा ठूलाखेत समूह प्रथम र घाँटीछिना समूह दोस्रो भयो । उनीहरूले क्रमशः १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

यस्तै तीज गीत प्रतियोगितामा जनसिद्ध बाल समूह प्रथम, पिपलडाली दिदीवहिनी समूह दोस्रो हुँदै क्रमशः ५ तथा ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

समाजका सचिव सुदिप पौडेलका अनुसार तीज गीतमा तेस्रो भएको मेयलडाँडा र सान्त्वना भएको पँधेराखाल्टा आमा समूहले पनि २ हजार तथा १ हजार नगद पुरस्कार प्राप्त गरे ।

तीज गीतको निर्णायकमा समाजका संस्थापक अध्यक्ष एवं सल्लाहकार धर्मराज पौडेल, सल्लाहकार तथा पत्रकार भानु पराजुली तथा जनसिद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक लेखवहादुर क्षेत्री थिए । यस्तै छेलो प्रतियोगिता राजु खड्काले जिते ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुली, वडा सदस्य गीत भट्टराई, संस्थापक अध्यक्ष धर्मराज पौडेल, स्थानीय युवाहरु शिव परियार, सुदिप पौडेल लगायतले बोलेका थिए ।

पोखराको हल्लनचोकदेखि फेवातालको किनारै किनार १५ किलोमिटरको दूरीमा पुग्न सकिने हर्पनमा होमस्टे, दृश्यालोकन, प्याराग्लाडिङ्ग, तथा स्थानीय कला र संस्कृतिको विकासमा क्लवले ध्यान दिने अध्यक्ष पौडेलले स्पष्ट पारे ।


Loading...