पहिलेभन्दा फरक छ अहिले जमाना…

‘दिदीबहिनी सबैलाई तीजको शुभकामना
पहिलाभन्दा फरक छ अहिले जमाना
देखासिकी गर्ने हैन, जे छ त्यसमा रमाऔं
परम्परा कायम गरी तीज मनाऔं’

पोखरा १७ मा सोमबार भएको तीजगीत प्रतियोगितालाई गीतैबाट कार्यपालिका सदस्य राधिका शाही योगीले सम्बोधन गरिन् । तीजमा भएका विकृति परित्याग गर्दै मौलिक तवरले पर्व मनाउनुपर्नेमा उनको जोड छ । अन्तर्मनका भावना साटासाट गर्ने र जनचेतना जगाउन तीजगीत निकै सशक्त माध्यम भएको उनले बताइन् । ढुंगेसाँघु सीतापाइला आमा समूहले आयोजना गरेको खुला तीजगीत प्रतियोगितामा उनले भनिन्, ‘महिला उत्पीडनका कुरा हुन्थे, सासुले दिएका दुःख र घर, व्यवहार हुन्थ्यो । अब जमानासँगै गीतले पनि परिवर्तन र सशक्तीकरणको भाव बोक्नुपर्छ ।’

गण्डकी प्रदेश सभा सदस्य गायत्री गुरुङले छोरीचेलीका पीडाका भाका गाइने तीजगीतमा अब समृद्धि र चेतना समेटिनुपर्ने बताइन् । उनले भनिन्, ‘समाजमा विभेद कम हुँदै जाँदा तीज मनोरञ्जनमा मात्र सिमिति हुने र विकृति पनि मिसिने देखिएको छ । १ महिनासम्म दर खाँदा हुनेलाई त पुग्ला, नहुनेलाई के होला ?’ गुरुङले पर्वहरुलाई मौलिक र समय अनुरुप मनाउन आग्रह गरिन् । उनले कानुनले महिलालाई अहिले धेरै अधिकार दिएको उल्लेख गर्दै क्षमता, दक्षता विकास गरी अवसरहरू उपयोग गर्न आग्रह गरिन् ।

प्रतियोगितामा नमुनाशील आमा समूह, नमुना आमा समूह, प्रकृतिप्रेमी आमा समूह र समृद्धि माहिला समूह क्रमश प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका थिए । उनीहरुले क्रमश ७ हजार, ४ हजार, ३ हजार, १ हजारका साथमा प्रमाणपत्र पाए । उत्कृष्ट नृत्यमा नमुना र उत्कृष्ट भेषभूषामा मिलनसार पुरस्कृत भए । यी दुवैले १ हजार र प्रमाणपत्र पाए ।

सोही अवसरमा भएको म्युजिकल चेयरमा गौरी पोखरेल र दुनाटपरी गास्ने प्रतियोगितामा बाटुली भण्डारी सर्वाेत्कृष्ट भए । उनीहरुले पनि जनही १ हजारसहित प्रमाणपत्र पाए । तीजगीत प्रतियोगिताका निर्णायकमा सुरज सुन्दौली, सन्ध्या बिसी र मदन गिरी थिए ।

समूहका अध्यक्ष जुना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ का वडा सदस्य वैकुण्ठ भण्डारी, डिएसपी सीता तिवारी, समृद्धि महिला समूहका कार्यवाहक अध्यक्ष मीना पौडेल, तमु ह्युला छोज धीकी लक्ष्मी गुरुङ, समूहका कार्यक्रम संयोजक सीता काफ्ले भण्डारी, पूर्व सचिव जुना मल्ल लगायतले बोलेका थिए ।