राष्ट्रिय भलिवलमा पुलिस च्याम्पियन, गण्डकी प्रदेश तेस्रो

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ । सोमबार भएको फाइनल प्रतिस्पर्धामा पुलिसले काठमाडौंको न्यू डाइमण्ड एकेडेमीलाई सोझो सेटमा पन्छायो ।

पुलिसले २५–१६, २५–१४ र २५–२० को सहज जित निकाल्यो । जितसंगै पुलिसले १ लाख १ सय ५५ रुपैयाँ हात पार्याे । पुलिस सामु डाइमण्डका खेलाडी निरीह जस्तै बने ।

यसअघिका खेलमा बलियो देखिएको डाइमण्डले फाइनलमा खासै रक्षात्मक खेल खेल्न सकेनन् । उपविजेता बनेको डाइमण्डले भने ६५ हजार ५ रुपैयाँ प्राप्त गर्यो ।

प्रतियोगितामा गण्डकी प्रदेशले तेस्रो स्थानमै चित्त बुझायो । गण्डकीले श्री राम खेलकुद विकास समिति दाङलाई सोझो पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल पुलिसकी मनिषा चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । पुलिसकै पुष्पा चौधरी वेष्ट ब्लकर, कोपिला उप्रेती वेष्ट स्पाइकर र सुशीला थापा वेष्ट सटर घोषित भए ।

गण्डकी प्रदेशकी रस्मिता दूरा वेष्ट लिविरो र पबित्रा सेन्चुरी वेष्ट क्विकरको उपाधि हात पारिन् । न्यू डाइमण्डकी झरना श्रेष्ठले वेष्ट सरभरको उपाधि हात पारिन् ।