वडा दसैंमा ठूलाथरमा मेला

बागलुङको गलकोट नगरपालिका वडा नं. ६ ठूलाथरमा नेपालीको महान् चाड दसैंको अवसरमा वडा दसैं मेला २०७६ हुने भएको छ । आइतबार पोखरामा भएको कार्यक्रममा मेलाबारे जानकारी दिइएको हो । संगम युवा क्लबको ३७ औं वार्षिकोत्सवसँगै मेला आगामी असोज २२ देखि २६ गतेसम्म ठूलाथरस्थित संगम खेल मैदानमा हुने क्लबका अध्यक्ष राजबहादुर पुनले जानकारी दिए ।

‘पर्यटन प्रवद्र्धनमा खेलकुद, कला र संस्कृतिको पहिचान, गलकोटको गौरव बहुउद्देश्यीय कभर्ड हल निर्माण हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना हुन लागेको मेलामा गलकोट नगरभित्रका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला महिला भलिबल प्रतियोगिता, खुला भेट्रान्स भलिबल प्रतियोगिता, खुला एकल नृत्य प्रतियोगिता एवं खुला मौलिक लोक सांस्कृतिक नृत्य प्रतियोगिता हुने छन् । अध्यक्ष पुनका अनुसार मेलामा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारको दोहोरी गीत प्रस्तुतिसमेत रहनेछ ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्ने मेलामा स्थानीय मौलिक लोकसंस्कृतिसमेत प्रस्तुत गरिने संस्कृति संरक्षण मञ्च, ठूलाथरका अध्यक्ष तारा श्रीसले जानकारी दिए । गलकोट नगरपालिकाकै गौरवको योजनाका रुपमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्ने र त्यसका लागि तिनै तहका सरकारलाई सहयोगका लागि आग्रह गर्ने क्लबका कोषाध्यक्ष गणेश चालिसेले बताए । कोषाध्यक्ष चालिसेका अनुसार मेलाबाट प्राप्त आम्दानीबाट बहुउद्देश्यीय कभर्ड हलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी बजेटका लागि पहल गर्ने योजना छ ।

ठूलाथरलाई खेलकुद तथा सांस्कृतिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले आयोजित मेलामा नजिकै रहेका स्थानीय होम स्टेको अवलोकन, गाईघाट झरना, गलकोट दरबार, गुरुङकोट देउराली, मोतीमारे बराह मन्दिर, कालिलेकको धुरी, दरमखोलाको असला माछाका परिकार लगायतका आकर्षण छन् । मेला गर्न झण्डै १५ लाख ७० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।