शनिवार राति अवेरसम्म जाजरकोटको तिमिले टोलमा तीज गीतमा नाचको रमझम थियो । त्यस गाउँकी ३२ बर्षीया पार्वती ओलीलाई पनि त्यो रमझमले छोएको थियो ।
भेरी नगरपालिका वडा नम्वर २ तिमिले टोलमा भएको तीज गीतको रमझमले पार्वतीका श्रीमान बलबहादुर ओली एकातिर उनी र दुई छोरीको सुताई अर्कोतिर हुन पुग्यो ।
आइतवार दरखाने दिन माइत जाने तयारीमा रहेकी पार्वती र उनको परिवारमा नसोचेकै घटना घट्यो, सुतेको केही घण्टा पछि ।
माथीबाट पहिरो आयो र घरसँगै आफूहरु बगेको पत्तै पाएनन उनीहरुले । आइतबार रातको साढे १ बजेतिर पहिरोको गडाङगुडुङ्ग सुनेर मात्र बलबहादुरले श्रीमती र छोरीहरु बगेको थाह पाए ।
जाजरकोट जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम खत्री भन्छन्,‘३२ बर्षीया पार्वती ओली, उनकी ९ वर्षीया छोरी मोतीकला र ३ वर्षीया अर्की छोरी धनसराको एकै साथ ज्यान गएको हो ।’ माइत जाने तयारीमा रहेकी उनको दुखद मृत्यु भयो,’ उनले दुख प्रकट गर्दै भने ।
शव पोष्टमार्टम गरी दाहसंस्कार गर्न अबेर भएका कारण उनीहरुको शव दाहसंस्कार गरी साँझपख काजकिरियाको कुनो बार्दै गरेको स्थानीयले बताए ।
यति बेला दरखाने साँझको रमझम त्यस परिवारमा मात्रै नभएर सिङ्गो तिमिले टोल मै रुवावासीमा परिणत भएको छ ।






