आइतबार दर खाने दिन, सबैजसो महिलालाई माइती, संघ, संस्थामा दर खान जाने चटारो थियो । दर खाने दिन भए पनि कास्की कारागारका महिलामा भने उत्साह थिएन । उनीहरुले आइतबार पनि अन्य दिनकै जस्तो दैनिकी सोचेका थिए । तर, बिहानै गण्डकी प्रदेशका उपसभामुख, प्रदेशसभा सदस्यहरुसहितको टोली कास्की कारागार पुग्यो ।
दर खाने सामग्रीसहित गण्डकी प्रदेशका विशिष्ट व्यक्तित्व पुगेपछि कारागारको माहोल नै बदलियो । नारी जागरण अभियान पोखराले दरका सामग्रीसहित कारागारमा पुगेर तीज मनाएको हो । कारागारमा एक दशक बढी बिताएकी बिना मानन्धरले कारागारअघिको तीज सम्झिइन् । १० वर्षपछि तीज मान्न पाएकोमा उनका आँखामा हर्षका आँसु देखिए । बिनाले भनिन्, ‘कोही जानेर, कोही नजानी, आवेशमा गल्ती गरेर यहाँ आएका हौं । माइती, घरको सम्झना आयो । पुरानै जीवन सम्झिएँ ।’ बिनाको भावुक मन्तव्यपछि त्यहाँ पुगेका सबै जसोका आँखा रसाए ।
गण्डकी प्रदेश उपसभामुख सृजना शर्माले परिस्थिति र परिबन्दले वन्दी भए पनि यसलाई सुधारगृहको रुपमा सोचेर सकारात्मक कामका मन लगाउन अनुरोध गरिन् । उनले भनिन्–‘जेल पर्ने सबै अपराधी हुँदैनन् । मैले पनि राजनीतिक आस्थाका कारणले बन्दी जीवन बिताएकी थिएँ ।’ उनले सबै बन्दी छोरी, बहिनी समान भएका उल्लेख गर्दै यहाँ दर खुवाउन पाउँदा निकै खुसी लागेको बताइन् ।
प्रदेश सांसद कृष्ण थापाले कारागारका महिला कैदी, बन्दीको मातृशिशु मितेरी अस्पतालमा निशुल्क उपचार गराउने प्रतिवद्धता गरे । उनले कारागारमा भौतिक सुधारका लागि पनि पहल गर्ने बताए । अर्का, प्रदेश सांसद गायत्री गुरुङले जानेर नजानेर गरेका गल्तीको सजाय सकिएपछि नयाँ जीवन सुरु गर्न आग्रह गरिन् । उनले भनिन्, ‘हामी जानेर गल्ती गर्दैनौ तर गल्ती भइहाल्छ । सकारात्मक काममा ध्यान दिएर समाज रुपान्तरण सहभागी हुन जरुरी छ ।’
पोखरा महानगरपालिकाका प्रवत्ता धनबहादुर नेपालीले तीज मनाउने तरिकामा सबैले परिवर्तन गर्नुपर्ने आवश्यक बताए । उनले तीज सरल र मौलिक तवरले मनाउन आग्रह गरे । उनले भने, ‘सद्भावपूर्ण ढंगले महिला बन्दीका लागि रचनात्मक र प्रेरक कार्यक्रम भएको छ ।’

तीजलाई भड्किलो मुक्त बनाउन अभियान चलाएको नारी जागरण अभियान गण्डकी प्रदेशले जेलमा कैद भुक्तान गरिरहेका महिला कैदी बन्दीसँग सामूहिक दर खाएर तीज मनाएको हो । अभियानले तीज पर्व सबै महिलाको समान पर्व भएकाले कारागारका महिलासँग तीज बनाइएको जनाएको छ । अभियानका संयोजक अञ्जु क्षेत्रीले कारागारका महिलामा पनि पर्वको उल्लास ल्याउन र तीजलाई सबैको बनाउन यसरी तीज मनाइएको बताइन् ।
कास्की कारागारका जेलर गणेश गौतमले ४ सय २० जना क्षमताको कारागारमा ८ सय २६ जना कैदीबन्दी रहेको बताए । उनले कैदीको सिधा निकै कम भएको उल्लेख गर्दै कम्तीमा प्रहरीको राशनसरह रकम उपलब्ध गराउन आग्रह गरे । गौतमले भने, ‘भौतिक पूर्वाधार पर्याप्त छैन, ठूलो रोग लागे उपचार गर्ने रकम छैन । कैदीबन्दीको सीपको उपयोग गर्ने वातावरण भए उनीहरुले आम्दानी पनि गर्न सक्ने थिए ।’






