अमले सहकारीमा नयाँ सञ्चालक समिति

पोखरा १७ छोरेपाटनमा रहेको अमले बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारणसभा तथा चौथो अधिवेशनले वद्रिनाथ पहारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा खेमराज बराल ‘ध्रुव’, सचिवमा एकनारायण भण्डारी, सहसचिवमा मदनकुमार मैनाली, कोषाध्यक्षमा माधव भट्टराई, सहकोषाध्यक्षमा युवराज सुवेदी र सदस्यमा मनुराज आचार्य, कल्पना कार्की, टीकाराम बराल, थाममाया गुरुङ र सावित्रा पौडेल सर्वसम्मत भए ।

कृष्णप्रसाद पोखरेलको संयोजकत्वमा छविलाल पनेरु र शारदा भण्डारी सदस्य रहको लेखा समिति चयन भएको छ । धर्मदत्त तिमिल्सिनाको संयोजकत्वमा ईश्वरी लम्साल र दिव्येश्वरी रेग्मी सदस्य रहेको निर्वाचन समितिले निर्वाचन गराएको हो ।

कार्यक्रममा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले सहकारी मर्ज गरेर ठूला परियोजनामा लगानी गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सहकारीमार्फत बचत गर्ने बानीका साथै आर्थिक गतिविधि गर्न आग्रह गरे ।

कार्यक्रममा पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष प्राडा भूपति ढकाल ‘कमल’, छोरेपाटन मावि व्यवस्थापन समिति अध्यक्ष झपिन्द्र रेग्मी, संस्था संस्थापक अध्यक्ष धर्मदत्त तिमिल्सिेना, इन्द्रेणी बचत तथा ऋण सहकारी अध्यक्ष सागर अधिकारी, कोप्स अध्यक्ष डिल्लीराम बराल, सेयर सदस्य सीता बराल, शिक्षा उपसमिति संयोजक एकनारायण भण्डारी, डिल्लीराम शर्मा र सचिव खेमराज बराल ‘ध्रुव’ले बोलेका थिए ।

साधारणसभामा कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने सुमितबाबु रिजाल र अनिता पनेरु, सेयर सदस्यमा उत्कृष्ट कारोबार कर्ता ध्रुवराज पहारी र सावित्रा पौडेल, उत्कृष्ट बचत कर्ता रन्जनाकुमारी शाही र सहव्यवस्थापक सुमित्रा सुवेदीलाई सम्मान गरिएको थियो ।

साधारणसभामा अध्यक्ष माधव पहारीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले अब सेयर पुँजी ६ करोडभन्दा बढी पु¥याउने योजना सुनाए । कोषाध्यक्ष मित्रराज बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । लेखा समिति संयोजक माधव भट्टराईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।