केफ छात्रा भलिबल च्याम्पियन

सूर्य चन्द्र विकास समाजले आयोजना गरेको प्रथम मावि स्तरीय छात्रा भलिबल प्रतियोगिताको उपाधि करुणनिधि एजुकेसन फाउन्डेसन (केफ)ले जितेको छ । टप्स माविलाई पन्छाएर केफले उपाधि जितेको हो । केफले २० हजार र टप्सले १० हजारसहित प्रमाणपत्र र मेडल पाएका छन् ।

शुक्रबार सुरु भएको प्रतियोगितामा १२ टिम सहभागी थिए । आइतबार पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपाली लगायतले विजयी टिम र उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे । नेपालीले विद्यालय तहबाटै खेलाडीलाई प्रोत्साहन जरुरी भएको बताए । उनले अहिले विद्यालय स्तरमा खेल्ने खेलाडीले भोलि महानगर, जिल्ला, प्रदेश र देशकै प्रतिनिधित्व गर्ने बताए । उनले भने, ‘खेलबाटै व्यक्तिगत समृद्धिसहित देशकै स्वाभिमान उच्च राख्ने अवस्था पनि सिर्जना हुन सक्छ । खेलाडी उत्पादनका लागि विद्यालयबाटै प्रोत्साहन जरुरी छ ।’

पोखरा ५ का वडा सदस्य अञ्जु क्षेत्रीले तीजको अवसरमा छात्रा, महिलालाई केन्द्रीत गरी खेलकुद, बहस जस्ता सिर्जनात्मक काम गरिनु सराहनीय भएको बताइन् ।

सोमबार खुला तीज गीत प्रतियोगिता हुँदै छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमश २० हजार, १० हजार, १५ हजार र ५ हजारका साथमा प्रमाणपत्र पाउने छन् । उत्कृष्ट नृत्य र भेषभूषालाई दुवैलाई २ हजार ५ सय प्रदान गरिनेछ । पोखरा ५ का स्थानीय आमा समूह, क्लब, वित्तीय संस्था गरी १८ संस्थाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् ।

सूर्यचन्द्र विकास समाजका अध्यक्ष केदारप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ५ का वडा सदस्य उज्ज्वल खत्री, नेपाली कांग्रेस पोखरा ५ सभापति भोलानाथ पराजुली, नेकपा पोखरा ५ अध्यक्ष विष्णुप्रसाद बराल, मणिराम बराल, कृष्णप्रसाद बराल लगायतले बोलेका थिए ।