देशभर शक्ति प्रदर्शन गर्दै नेकपा, प्रधानमन्त्री फर्किए लगत्तै गरिने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी शक्ति प्रदर्शन गर्न तयारी गरेको छ । आफ्ना नेता कार्यकर्ता रिझाउन पार्टीले सातवटै प्रदेशमा शक्ति प्रदर्शनको तयारी गरेको हो ।

सम्भवतः अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फिर्कए लगत्तै बैठक बसेर शक्ति प्रदर्शनको निर्णय गरिनेछ ।

पार्टी एकीकरण भएको करिब २ वर्षपछि नेकपाको कमाण्ड अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्न थालेपछि पार्टी सक्रिय ढंगले अघि बढ्ने संकेत गरेको छ ।

केही दिन अघि पार्टीको हेडक्वाटर बैठक बसेर नेतालाई जथाभावी बोल्नबाट लगाम लगाएको नेकपाले १३ गते अध्यक्ष प्रचण्डको हस्ताक्षर रहेको अन्तरपार्टी निर्देशिका–२ जारी गर्यो ।

‘नेपाली कम्युनिष्ट आन्दोलनलाई मात्र होइन, राष्ट्रिय राजनीतिलाई नै नयाँ ढंगले दिशावोध गर्ने र अन्तर्राष्ट्रिय कम्युनिष्ट तथा श्रमिक आन्दोलनलाई समेत ऊर्जा र उत्साह भर्ने हैसियतका साथ पार्टी एकता सम्पन्न भएको करिब १५ महिना व्यतित भएको छ । हामीले एकता–एकीकरणका बाँकी कामहरू तीन महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेका थियौँ’, अन्तरपार्टी निर्देशिकामा उल्लेख छ ।

नेकपाको अन्तरपार्टी निर्देशिका–२ सुरुमै छ, ‘राष्ट्रिय राजनीतिले सिर्जना गरेका नयाँ–नयाँ जिम्मेवारी र मूलतः सहमतिका साथ एकता–एकीकरणका बाँकी काम सम्पन्न गर्ने हाम्रो उत्कट चाहना समेतका कारणले गर्दा पूर्वघोषित ३ महिनाभित्र एकता–एकीकरणको काम सम्पन्न गर्न सम्भव भएन । अपेक्षा गरेभन्दा बढी नै समय लिएर तर मूलतः सहमति र समझदारीका साथ एकता–एकीकरणको काम अघि बढेको छ र अन्तिम चरणमा आइपुगेको छ ।’

त्यसपछि नेता–कार्यकर्तामा ऊर्जा भर्ने गरी नेकपाको अन्तरपार्टी निर्देशिका–२ भनिएको छ, ‘हामीले छिट्टै एकता–एकीकरणका बाँकी कामहरू सम्पन्न गर्नेछौँ । यथाशक्य पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्नेछौँ । अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्छौ ।’

अध्यक्ष प्रचण्डले भनेका छन्, ‘अब ढिला नगरी एकीकरणका बाँकी काम टुंग्याउँछौं । हामी सातै प्रदेशमा विशेष अभियान सञ्चालन गर्छौँ । यो हामीले पार्टी सचिवालयमा निर्णय नै गरिसकेका छौं । अब ढिला गर्दैनौँ । प्रधानमन्त्री ओलीजी फर्केलगत्तै हामी शुरु गर्छौँ ।’

यसबाहेक नेता–कार्यकर्तामा ऊर्जा थप्ने विषयमा प्रचण्डले थपेका छन्, ‘पार्टी एकता ढिला हुँदा हाम्रा ८/१० लाख कार्यकर्तामा निराशा जस्तो देखियो । लामो समय हाम्रो यो फोर्स निष्कृय हुँदा पार्टीले गति नलिए जस्तो देखियो । हाम्रा ती लाखौं कार्यकर्ता जम्मा गरेर ऊर्जा भर्ने गरी नै अभियान चलाउछौं । उहाँहरुलाई सक्रिय बनाउँछौं ।’

नेकपाले नेता–कार्यकर्तामा ऊर्जा भर्ने सूत्रसहित पार्टी संगठनलाई पनि चुस्त रूपमा अगाडि बढाउने योजना पनि बनाएको छ । जस्तो अन्तरपार्टी निर्देशिकामा भनिएको छ, ‘निर्णयहरूको महत्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न र आआफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशित गरिन्छ ।’