राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले मन्दिरमा गएर दान गर्नु भन्दा सामाजिक काममा सहयोग गर्नु ठूलो धर्म हुने बताएका छन् ।
पोखरास्थित सहारा एकेडेमी अवलोकन गर्दै सदस्य सचिव सिलवालले धर्म कमाउने नाममा मन्दिरमा गएर भन्दा दिनदुखी भएका सहारा एकेडेमी जस्ता क्षेत्रमा सहयोग गर्नु नै ठूलो धर्म हुने स्पष्ट पारे ।
सहारा क्लवको प्रयासलाई सफल पार्न सबैमा आग्रह गर्दै सदस्य सचिव सिलवालले एकेडेमीलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । एडकेडेमीमा रहेका बालकको प्लस टु पछिको अध्ययनका लागि सहयोग गर्ने समेत उनले वचन दिए ।
सहारा एकेडेमीका बालकलाई उनले भने, ‘एउटा खेलबाट, पढाईबाट अनुशासनबाट तिमीहरूले आफूलाई प्रमाणित गरेर देखाउनु पर्छ । एकेडेमीबाट बाहिर गए पनि पनि पुनः एकेडेमीमा जाने–आउने गर्नुपर्छ ।’
सहारा एकेडेमी निकै रमणीय र फराकिलो क्षेत्रमा भएकोले पोखरामा हुने साफ महिला फुटबल प्रशिक्षणका लागि उपयुक्त स्थल हुन सक्ने सिलवालले बताए ।
‘सहारा एकेडेमीको चर्चा संचार माध्ययमार्फत सुन्दै आएको थिएँ आज एकेडेमीमै आउँदा मेरो एउटा इच्छा पूरा भएको छ’, उनले भने, ‘यहाँ निकै व्यवस्थित छ । खेल मैदान छ, पोखरामा दुर्लभ जग्गा भएको अवस्थामा २६ रोपनी क्षेत्रफलमा एकेडेमीमा हुनु आफैमा निकै राम्रो हो ।’

काठमाडौंको दुषित ठाउँबाट समेत विभिन्न खेलको प्रशिक्षण गरेको उल्लेख गर्दै उनले पोखराको सुन्दर ठाउँमा प्रशिक्षण हुनुले थप राम्र्रो प्रशिक्षण हुने विश्वास व्यक्त गरे ।
पोखरा फुटवल स्टुडियमको केही भाग खुला हुने हुँदा मार्सल आर्टसका खेल समेत गर्न सकिने उनले बताए ।
पोखरामा प्राकृतिक वातावरण राम्रो हुनुको साथै यहाँ खेल भावना राम्रो भएको सदस्य सचिव सिलवालले जनाए ।
नेपालमा दर्शक अभाव ठूलो समस्याको रुपमा भने उल्लेख गर्दै उनले लोकप्रिय खेलमा शुन्य जस्तै दर्शक हुनु उपयुक्त नभएको बताए । खेलकुदको विकासको लागि धेरै प्रतियोगिता गर्नुपर्नेमा उनले जोड दिए ।
दर्शक बढाउन पनि डिजिटल प्रविधि तथा संचार माध्यमलाई प्रयोग गर्नुपर्ने उनले बताए । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको लागि दर्शक बढाउने गरी ब्याबथापन गर्न राखेप सदस्य राजेशकुमार गुरुङलाई सदस्य सचिव सिलवालले आग्रह गरे ।
उक्त अवसरमा राखेपका सदस्य सचिव सिलवाल, राखेपका सदस्य राजेशकुमार गुुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा, सहारा यूके सचिव धनु थकाली, सहारा यूकेका सल्लाहकार महेश गुरुङ, मुच्छेत्र गुरुङ लगायतलाई एकेडेमीमा फूलमालाले स्वागत गरिएको थियो ।
क्लवका अध्यक्ष केशव बहादुर थापाले क्लवको गतिविधिको बारेमा जानकारी गराएका थिए ।
सहारा एकेडेमीमा हाल १६ जिल्लाका २४ जना बालक रहेका छन् ।






