ताजा समाचार

भाद्र १४ गते २०७६

फैलियो डेंगु, तीजगीतबाटै सचेतना


पोखरामा शनिबारसम्म ४ सय ६० जनाभन्दा बढीमा डेंगु रोगको संक्रमण भेटिएको छ । डेंगुबारे टोल टोलमा सचेतना अभियान चलाएको पोखरा वडा नं. १७ ले हरितालिका तीजलाई लक्षित गरी शनिबार डेंगुरोगसम्बन्धी तीजगीत प्रतियोगिता आयोजना ग¥यो ।

प्रतियोगितामा नारी उत्थान दिदीबहिनी समूह, संकल्प आमा समूह र समृद्धि महिला समूह क्रमश प्रथम, द्वितीय र तृतीय भए । उनीहरुले क्रमश ७ हजार, ५ हजार ३ हजार १ हजारसहित प्रमाणपत्र पाएका छन् । सञ्चय कोष टोल विकास संस्था र हरियाली आमा समूह सान्त्वना भए । सञ्चय र हरियाली दुवैले १÷१ हजारसहित प्रमाणपत्र पाए ।

प्रतियोगितामा उत्कृष्ट नृत्यमा रामनगर आमा समूह र उत्कृष्ट बालनृत्य र भेषभूषामा जागरण आमा समूह पुरस्कृत भएका छन् । प्रदेशसभा सदस्य कृष्ण थापा र पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले उनीहरुलाई पुरस्कार वितरण गरे । प्रतियोगितामा १४ समूह सहभागी थिए ।

कार्यक्रममा गण्डकीका उपसभामुख सिर्जना शर्माले तीजगीत प्रतियोगिता र जमघटले धेरै महिलालाई तीजको झल्को दिने बताइन् । उनले तीज आत्मीयता बढाउने पर्व भएको उल्लेख गर्दै आफ्नो हैसियत र परम्परा अनुसार चाडपर्व मनाउन आग्रह गरिन् । उनका चुनौती महिला सशक्तीकरण, आर्थिक उन्नति र नेतृत्व विकास भएकाले यी विषयलाई महिलाले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रदेशसभा सदस्य कृष्ण थापाले यस खालका प्रयास रोग नियन्त्रण र संस्कृति संरक्षा गर्न सार्थक हुने बताए । पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले मौलिक तवरले चाडपर्व मनाउन र अहिलेको स्वास्थ्य चुनौतीको सामना गर्न कार्यक्रम गरिएको बताए ।

कार्यपालिका सदस्य एवं प्रतियोगिता संयोजक राधिका शाही योगीले अरुको देखासिकी नगरी चाडपर्व मनाउनुपर्नेमा जोड दिइन् । गत वर्ष फोहोरमैला व्यवस्थापनबारे भएको तीजगीत प्रतियोगिताले सकारात्मक नतिजा दिएको उल्लेख गर्दै उनले डेंगु नियन्त्रणमा पनि प्रतियोगिताले उल्लेख्य रुपमा सघाउने अपेक्षा गरिन् ।

कार्यक्रममा पोखरा महानगरका कार्यपालिका सदस्य सन्तुदेवी सुवेदी, पोखरा १७ का वडा सदस्य शान्तादेवी गुरुङ, नेपाली कांग्रेस पोखरा १७ सभापति देवीराज आचार्य, नेकपा पोखरा १७ सचिव ईश्वरी लम्साल, सहरी स्वास्थ्य केन्द्र पोखरा १७ प्रमुख निर्मला अर्याल, पत्रकार शुष्मा पौडेल, पोखरा १७ का शिक्षा उपसमिति सदस्य लालबहादुर राना लगायतले बोलेका थिए ।

प्रतियोगिताका निर्णायकमा लक्ष्मी बराल, रञ्जिता कार्की र शान्ति पौडेल थिए । कार्यक्रम वडा सचिव सुभाष पौडेलले सञ्चालन गरेका थिए ।


Loading...