राष्ट्रिय भलिवलमा गण्डकी र न्यू डाइमण्ड विजयी

पोखरामा राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा शनिबार गण्डकी प्रदेश र यू डाईमण्ड एकेडेमी काठमाडौंले जितेका छन् ।

शनिबारको पहिलो खेलमा गण्डकी प्रदेशले पारामाउण्ट इङ्लिस वोर्डिङ काठमाडौंलाई २५–१४, २५–११, २५–१५ को सोझो सेटमा पराजित गरेको हो ।

यसैगरी दोस्रो खेलमा यू–डाईमण्ड एकेडेमीले चितवन टाईगर्स क्लवलाई २५–१४, २५–२०, २५–१४ को सोझो सेटमा पराजित गरेको हो ।

शनिबार हुने भनिएका २ खेल अत्याधिक वर्षादका कारण स्थगित भएको छ । गण्डकी प्रदेश विरुद्ध श्रीराम खेलकुद विकास समिति दाङ बीच खेल जारी रहँदा लगातार गण्डकी प्रदेशले २ सेट लिएसंगै तेस्रो सेटमा अत्याधिक पानी परेर खेल स्थगित भएको नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष यम बहादुर गुरुङले बताए ।

यसैगरी शनिबार हुने भनिएको अन्तिम खेल न्यू–डाईमण्ड बिरुद्ध नेपाल पुलिस क्लव बिचको खेल स्थगित भएको हो । स्थगित खेल आइतबार विहान ७ बजे पछि हुने प्रतियोगिताका खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए । स्थगित खेल बाहेक आइतबार लिग चरणका ४ खेल हुने भएका छन् ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले गरे । उनले नव आदर्श सामुदायिक विकास समाजलाई अन्तर्राष्ट्रिय स्तरकै भलिवल प्रतियोगिता गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्न राखेप तयार रहेको जनाए ।

उनले भने, ‘छात्रा भलिवलको रुप राष्ट्रिय भलिवल भएकोले अब राष्ट्रिय भलिवलको सुधारिएको रुप अन्तर्राष्ट्रिय स्तरकै भलिवल प्रतियोगिता हुनुपर्छ । तपाईहरुले आयोेजना गर्नुहोस, राखेपको क्यालेण्डरमै यसलाई समेट््नुहोस हामी सहयोग गर्छौं ।’