तीजको दर खाने दिन यसवर्ष आज आइतबार परेको छ । हरितालीका तीजको ब्रत बस्ने नारीले अघिल्लो दिन मीठा मीठा परिकार बनाएर खाने गर्दछन् । पहिले-पहिले व्रत बस्ने अघिल्लो दिन दर खाने चलन थियो । केही वर्ष यता भने महिना दिनअघिदेखि नै दर खाने चलन बढेको छ ।
भोलिपल्ट बस्नुपर्ने निर्जला व्रतलाई आजको दरले भ्याउनुपर्ने मान्यताका साथ दर खाने गरिएको बताईन्छ । भोलिपल्ट व्रतमात्र नभई दिनभरिको नाचगान, कुराकानी, पूजापाठमा पनि शक्ति चाहिने भएकाले नारीहरूले यो दिन भरपूर दर खाने गर्दछन् । दिदिबहिनी एकैठाउँमा भेला भएर रमाइलो गर्दै बसेर मीठा मीठा परिकारहरू खाने चलन नै दर हो ।
सामान्यतया ढकने, आलुदम, आलु–कवाफ, दूध, कुरौनी, फलफूल, मिठाई लगायतका आडिला कुराहरू दरको रुपमा खाने चलन छ । विवाहितहरूका लागि दरको महत्व अझ विशेष छ । माईतीको निम्तोमा दर खान पुगेकाहरू आजको दिन आमा, हजुर या भाउजुहरूको स्नेहमा कुनै सुर्ता नराखि खाने र रमाउने गर्दछन् ।
दर भनेको के हो ?
हिन्दू वैदिक परम्परा अनुसार ब्रत बस्नु अघिल्लो दिन शरीरलाई शुद्ध राख्न शुद्ध खानेकुरा खानुपर्छ । खानाबाटै मन, आत्मा, चित्त शुद्ध बन्ने विश्वास रहेकाले पवित्र कार्यअघि खानेकुरा छनोटलाई पनि महत्व दिइन्छ ।
ब्रतको अघिल्लो दिन चोखो, मनलाई शान्त पार्ने खालको खानेकुरा खाने र थोरै खानाले भोलिपल्ट तन्दुरुस्त रहन मद्दत गर्छ । तीज भनेको धार्मिक परम्परासँग जोडिएको पर्व हो । तर तीजमा खाइने दरको सम्बन्ध धर्मसँग छैन। अघिल्लो दिन आडिलो खानेकुरा खाँदा ब्रतको दिन सजिलो हुन्छ भनेर दर खाने प्रचलन बसेको हो ।
गाउँघरमा तीजको दिन पनि काम गर्नुपर्ने हुन्छ । भोकै दिनभरी काम गर्न सकिंदैन, काम गर्न बल पनि चाहिन्छ । त्यसका लागि अघिल्लो दिन नै दरिलो, आडिलो खानेकुरा खानुपर्छ भन्ने मान्यता छ । ब्रत बस्दा शरीरलाई कमजोर हुन नदिने विषयसँग दरको सम्बन्ध छ ।
किन खुवाइन्छ चेलीबेटीलाई दर ?
हिन्दू संस्कारमा चेलीहरू तीजमा माइत जान्छन् र ब्रत बस्छन् । बल्लबल्ल माइत आएका चेलिबेटीलाई मिठो खुवाउने चाहना अभिभावकमा हुनु स्वभाविक हो । चेलिबेटीहरू तीजमा ब्रत बस्ने भएपछि उनीहरूलाई अघिल्लो दिन नै मीठा मीठा खुवाउने चलन पहिलेदेखि नै चलिआयो । यसरी तीजको अघिल्लो दिन खाने परिकारलाई दर भनियो ।

पहिले पहिले गाउँघरमा महिलाहरूले सामान्य खानेकुरा मात्र खान पाउँथे । यसबाट पर्याप्त पौष्टिक आहार पनि उनीहरूले पाउँदैनथे। शारीरिक रूपमा पोषण नपुग्ने भएकाले पनि दरको प्रचलन सुरु भएको हो । पहिले पहिले गाउँघरमा मीठो खान चाडपर्व नै कुर्नुपर्थ्यो ।
त्यसकारण तीजको अघिल्लो दिन शरीरलाई दह्रो बनाउने आडिला खानेकुरा सहित दर खुवाउने गरिन्थ्यो । दरको रुपमा तीजको अघिल्लो दिन राती अबेरतिर अनादीको लट्टे, घ्यू हालेको खाना, खीर, ढकनीजस्ता तागत दिने खानेकुरा खाने चलन छ । तर हिजोआज दरको रुपमा माछा मासु लगायतका खानेकुरा पनि खाने गरेको पाइएको छ ।
तीजमा ब्रत बस्नुलाई धर्मसँग जोडिने भएकाले अघिल्लो दिन माछा मासु खाएर ब्रत बस्नु शुद्ध मानिंदैन । ब्रत बस्ने अघिल्लो दिन दूध, घ्यूबाट बनेको चोखो र आडिलो खानेकुरा खानुपर्छ । हिजोआज ठाउँ अनुसार तीजको दिन शारीरिक परिश्रम गर्ने चलन घटेको छ । त्यसैले प्रोटिनयुक्त खानेकुरा खाँदा शरीरलाई थप असर गर्ने कुरामा ख्याल गर्नुपर्छ ।
पुरुष पनि बस्न मिल्छ तीजको ब्रत
स्वस्थानीमा हिमालय पर्वतकी छोरी पार्वतीले महादेव पति पाउँ भनी स्वस्थानीको ब्रत बसेकी थिइन् । त्यसैले नेपाली हिन्दू संस्कारमा पनि महिलाहरू मात्र तीजको ब्रत बसेको पाइन्छ । तर समय अनुसार यसलाई फरक ढंगले पनि व्यहार गर्नुपर्छ ।
विवाहित महिलाले पतिसँगै ब्रत बस्नु राम्रो हुन्छ । यदि कुनै नारीको पतिले पत्नी ब्रत बसेको मन पर्दैन भने जवर्जस्ती ब्रत बस्नु हुँदैन । जसले पतिलाई राम्रो हुनुको सट्टा झन् नराम्रो लाग्न सक्छ । बिहे नगरेका नारीहरूमा ब्रतले सकारात्मक भावनाको विकास गराउँछ । तीजको ब्रत पतिले पनि बस्दा हुन्छ ।






