यस वर्षको डागर स्मृति समाजसेवा पुरस्कार मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । आश्रमले ८ सय जना खुला आकाशमुनि रात बिताउन विवश घरबार विहीन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मानिसलाई साहारा दिँदै आएको छ । आश्रमलाई यही भदौ १७ गते हुने समारोहमा पुरस्कृत गरिनेछ ।
डागर स्मृति प्रतिष्ठानबाट स्थापित एवं सञ्चालित यो पुरस्कारको राशि नगद १० हजार ५ सय र सम्मानपत्र छ । समाजसेवी राजन प्रासर डागरको स्मृतिमा स्थापित यस प्रतिष्ठानले समाजसेवा र साहित्यको क्षेत्रमा क्रियाशील व्यक्तित्व एवं संस्थालाई पुरस्कृत गर्दै आएको छ । यसअघि यो पुरस्कारबाट आरएम डंगोल, विश्वमोहन गौचन, चन्द्रा गुरुङ, रामबहादुर पौडेल, भीम रानाभाट, गोविन्दराज पहारी, हरिश्चन्द्र शर्मा, हिमाली सांस्कृतिक परिवार र सोनाम साङ्पो पुरस्कृत भइसकेका छन् ।
२०६९ भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सुरु भएको आश्रम अहिले नेपालका सातै प्रदेशका १३ जिल्लाका १५ स्थानमा छ । २०७४ चैत १७ गते पोखरामा पनि आश्रमले सञ्जाल विस्तार गरेको छ । ७ सयभन्दा बढीलाई सुधारपश्चात् पारिवारीक पुनर्मिलन गराइएको छ ।
मानव सेवाको पोखराको आश्रममा ९४ जनाले आश्रय पाएका छन् । सामान्य मानवसरहको जीवन जीउन नपाइरहेका मानवको मानवोचित व्यवस्थापन गराई बेसहारा तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी मानवरहित राष्ट्र नेपाल निर्माण गर्नु मानवसेवा आश्रमको लक्ष्य रहेको गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले बताए ।




