आज बुबाको मुख हेर्ने दिन, शास्त्रमा नभएको प्रचलन

गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आआफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ ।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् ।
विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आआफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठूलो घुइँचो लाग्छ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

यस्तो छ प्रचलन
हिन्दू धर्म संस्कृतिअनुसार आफ्ना मातापिता नहुनेले हरेक औँसीमा श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ । तर, हरेक औँसीमा श्राद्ध गर्नु सधैँ सबैलाई सम्भव नहुन पनि सक्छ । सोही कारण औँसीमा १ छाक मात्र खाएर मातापितालाई श्रद्धासाथ सम्झने प्रचलन पनि छ ।

आफ्ना मातापिता जीवित हुनेहरूले मातातीर्थ औँसीका दिन आमालाई र कुशेऔँसीमा बुबालाई विशेष सम्मान प्रकट गर्छन् । त्यसो त आफ्ना मातापितालाई हरेक दिन सम्मान तथा आदर गर्नु हिन्दू परम्परा नै हो ।

तर, कुशेऔँसीमा टाढा भएका छोराछोरी पनि आफ्ना पितालाई भेट्न आइपुग्छन् । पितालाई मनपर्ने परिकार तथा विभिन्न उपहार दिने प्रचलन पनि छ ।

बुबाको मुख हेर्ने भन्ने चलन शास्त्रमा उल्लेख गरिएको छैन । नेपालमा पहिला काठमाडौं उपत्यकाका नेवार समुदायमा मात्र यस्तो प्रचलन थियो । नेवार समुदाय जताजता फैलिँदै गयो, सो स्थानमा बुबाको मुख हेर्ने संस्कृति पनि फैलन थाल्यो ।

राम्रो संस्कृति पनि भएकाले अहिले नेपालमा सबै जातजाति तथा संस्कृति मान्नेले कुशेऔँसीलाई बुबाको सम्मान गर्ने पर्वका रूपमा मनाउन थालेका छन् । यो प्रचलन भारतीय हिन्दूमा रहेको पाइँदैन ।