आज कुशेऔंशी, कुशकै कारण सर्पको दुई जिब्रो !

कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । जुन पर्व आज मनाइँदै छ ।

कुशे औँसीका दिन हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउँछन् । हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् ।

हरेक वर्षको भाद्रकृष्ण औंसीका दिन कुशे औंसीमा ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ । यस दिन ब्राह्मणद्वारा काटिएको कुश घरमै राख्ने र जजमान कहाँ लगिदिने चलन छ ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास छ । यस दिन प्रयोग हुने कुशको छुट्टै महत्व छ ।

धार्मिक र सांस्कृतिकदेखि स्वास्थ्यका दृष्टिकोणले पनि उपयोगी मानिन्छ । तराईदेखि पहाडसम्म पाइने एक किसिमको घाँस कुशको जराबाट विभिन्न आयुर्वेदिक उपचार हुन्छ ।

विशेष गरी धार्मिक तथा पितृकार्य गर्दा कुशको औंठी, ब्राह्मण, मोटक, पवित्र, कुशको टुक्रा आदि प्रयोग गर्ने परम्परा छ ।पौराणिककालमा कुशको प्रसंग उल्लेख छ ।

सत्ययुगमा जालन्धर पत्नी वृन्दाको पतिव्रता धर्म नष्ट गराएका भगवान् विष्णुलाई श्राप परी ‘घाँस हुनुपरोस्’ भनी कुश हुनुपरेको श्रीषखण्ड पुराणमा उल्लेख छ ।

यसैगरी, गुरुडले माता विनितालाई दासत्वबाट मुक्त गराउन अमृत भण्डार लिन जाँदा कुश फेला परेको विष्णुपुराणमा उल्लेख छ ।

कालकुट विष निकालेर आएको अमृत कुश भएको ठाउँमा राखिँदा सर्पले अमृत भण्डारमा गएर खान खोज्दा कुशले जिब्रो काटिएकाले त्यतिबेलादेखि सर्पहरूको २ वटा जिब्रो भएको कथन छ ।

बलिराजा र शुक्राचार्यबीच पनि कुशकै कारण मनमुटाव भएको प्रसंग पुराणमा छ । यस्तै, भगवान् बलरामले भूलवश सुतजीलाई मारेकाले त्यही स्मरणमा हरेक धार्मिक तथा पैतृक कर्म गर्दा कुशको ब्राह्मण बनाउने नियम बनेको हो । कुशमा ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप हुन्छ ।