पोखरामा हुने महिला फुटबलका लागि प्रशिक्षण मैदानमा लागि तयारी गर्न यतिबेला राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्य राजेश गुरुङ सक्रिय छन् ।
नेपालमा आयोजना हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) को आयोजना मिति नजिकिंदै जाँदा गुरुङ सक्रिय भएका हुन् ।
यसैक्रममा पोखरा दोविल्ला स्थित राखेप सदस्यले बिहीबार सहारा एकेडेमीको खेल मैदान निरीक्षण गरेका छन् । राखेप सदस्य भएपछि पहिलो पटक सहारा एकेडेमी पुगेका गुरुङले साग खेलमा सहाराको मैदान प्रशिक्षणका लागि उपयुक्त रहेको बताएका छन् ।
सो अवसरमा प्रशिक्षणका दौरान आवश्यक पूर्वाधारको निर्माण तथा मर्मतका लागि यथाशीघ्र पहल थाल्ने बताए । उनले भने, ‘सहाराको खेल मैदान उपयुक्त छ र यहाँको शान्त वातावरणमा प्रशिक्षण गर्न पाउँदा जुन सुकै देशका खेलाडी पनि प्रफुल्लित हुनेछन ।’
सागका क्रममा पोखरामा हुने सात खेलमध्ये महिला फुटबलका लागि सबै देशका टोलीलाई सुविधा सम्पन्न प्रशिक्षण मैदान आवश्यक रहेकोतर्फ इंगित गर्दै उनले सहारा एकेडेमीको खेल मैदान प्रयोगका लागि अखिल नेपाल फुटबल संघसंग समेत छलफल गर्ने बताए ।

सहारा एकेडेमीमा पुगेका राखेप सदस्य गुरुङले एकेडेमीमा रहेका कठिन परिस्थितिका बालकसंग भेटघाट गर्दै उनले सहाराले दिएको सहारालाई जीवनमा नर्विसन आग्रह गरे ।
उनले भने, ‘अहिले यहाँ बस्ने तपाईका लागि यतिबेला सहारा अभिभावक भएकोे छ, भोलि आफ्नो खुट्टामा उभिएको बेला सहाराले लगाएको गुन तिर्नु होला ।’
राखेप सदस्य गुरुङ एकेडेमी पुग्दा एकेडेमीका अध्यक्ष विक्रम थकालीले स्वागत गरेका थिए । सो अबसरमा हालै यूके बाट नेपाल आएका सहारा क्लव पोखराका मानार्थ सदस्य तथा सहारा यूकेका सल्लाहकार महेश गुरुङले राखेप सदस्य गुरुङलाई बोर्ड सदस्य भएकोमा खादा लगाएर सम्मान गरेका थिए । तस्वीर : सुदर्शन रञ्जित




