ताजा समाचार

भाद्र १२ गते २०७६

डेंगुबारे चेतना फैलाउन तीजगीत प्रतियोगिता

पोखरा महानगरमा डंगु रोग फैलिँदो छ । रोग नियन्त्रणका लागि अनेक प्रयास भइरहेका छन् । टोल टोलमा सचेतना कार्यक्रम गरिरहेको पोखरा वडा नं. १७ ले यसपालिको हरितालिका तीजलाई पनि यही अभियानसँग जोडेको छ । वडाले आगामी शनिबार डेंगुरोगबारे तीजगीत प्रतियोगिता आयोजना गरेको छ ।

सञ्चय कोष आवास, विरौटामा हुने प्रतियोगितामा प्रतियोगीका रुपमा र डेंगुबारे जानकारी लिन सहभागिताका लागि वडा कार्यालयले सबै वडावासीमा अनुरोध गरेको छ । प्रतियोगितामा सहभागी हुन शनिबार बिहान साढे १० बजेसम्म पोखरा १७ को वडा कार्यालय र टेलीफोनबाट समेत नाम टिपाउन सकिनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमश ः ७ हजार, ५ हजार, ३ हजार र १ हजारका साथमा प्रमाणपत्र पाउनेछन् । तीजगीत प्रतियोगितामा वडा नं. १७ का टोल विकास संस्था, महिला समूह, युवा क्लब, टोल सुधार समिति लगायत सहभागी हुन पाउनेछन् ।

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरामा डंगु रोगको प्रकोप बढ्दै गएको र यसबारे सचेतना दिन तीजगीत निकै प्रभावकारी हुने बताए । प्रतियोगिता संयोजक महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले डेंगुबारे अभियानमा हरेक ४, ५ घरमध्ये १ मा डेंगु फैलाउने लामखुट्टे भेटिएको जानकारी दिइन् । तीजको शुभकामना आदानप्रदानसहित वडावासीलाई डेंगुरोगबारे सचेत बनाउन कार्यक्रम गरिएको उनको भनाइ छ ।

पोखरामा बिहीबारसम्म करिब ३ सय जनामा डेंगु पहिचान भएको छ । पोखरा १७ मा मात्रै २५ जनामा यो रोग देखिएको पोखरा महानगरका सहरी स्वास्थ्य केन्द्र प्रमुख निर्मला अर्यालले जानकारी दिइन् ।


Loading...