सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर-१९ एसिया कपको तयारीको लागि श्रीलंकामा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले दोश्रो अभ्यास खेलमा बदुरलिया क्रिकेट क्लबलाई ८० रनले सहजै पराजित गरेको छ।
खेलमा नेपालले पहिले ब्याटिंग गर्ने क्रममा ४६.४ ओभरमा सबै विकेट गुमाएर २०६ रन बनाएको थियो। नेपालको इनिंगको क्रममा खेल वर्षाले २ घण्टा रोकिएको हुँदा दोश्रो इनिंगको खेल ३१ ओभरमा घटाएर खेलाइएको थियो र डीएल मेथड अनुसार ३१ ओभरमा १६५ रनको लक्ष्य दिईएको थियो। लक्ष्य पछ्याउने क्रममा बदुरलियाले २३.१ ओभरमा ८४ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।
यस अघि पहिलो अभ्यास खेलमा नेपाल सिन्हालिज स्पोर्ट्स क्लब यु-२३ टिमसंग रोमान्चक खेलमा ३ विकेटले पराजित भएको थियो। नेपालले अब तेश्रो अभ्यास खेल शुक्रबार चिलाउ मरियन्स क्लब बिरुद्ध खेल्नेछ।
सागरको घातक बलिंग
लक्ष्य पछ्याउने क्रममा सुरुवात देखि विकेट गुमाएको बदुरलियाका ब्याट्सम्यानहरुले ठुलो साझेदारी गर्न सकेनन्। फलस्वरूप नेपाली स्पिनरहरु बदुरलिया माथि हावी हुन पुगे।

देब्रे हाते स्पिनर सागर ढकाल, र अफ स्पिनर पवन सर्राफले घरेलु टिमको इनिंग ध्वस्त पारे। सागर एक्लैले ५ विकेट लिए भने पवन सर्राफले २ विकेट लिए। सागरले ५.१ ओभरमा १८ रन खर्चिए। इनिंगको सुरुवातमै दबाब बनाउने क्रममा तिब्र गति बलर कमल ऐरीले २ विकेट लिएका थिए। कुशल मल्लले १ विकेट लिए।
बदुरलियाको ब्याटिंगमा थिभिन्दु डिकवेल्लेले सर्वाधिक ३१ तथा अभिसका लक्षनले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
रित र हरिको उत्कृस्ट इनिंग
खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै नेपालले ४६.४ ओभरमा सबै विकेट गुमाएर २०६ रन बनाएको थियो ।
खराब सुरुवात गरेको नेपालको माथिल्लो क्रमका ब्याट्सम्यानहरुले लगातार विकेट गुमाउन पुगेका थिए। पवन सर्राफ खाता नखोली पहिलो ओभरमै आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो। त्यसपछि अघिल्लो खेलम अर्धशतक बनाएका आसिफ शेख १४ रन, खडक बोहरा २ रन तथा कप्तानरोहित पौडेल ३ रन बनाएर आउट भए। फलस्वरूप नेपालको योगफल आठौँ ओभरमा ३३/४ पुग्यो।

अर्को किनारमा विकेट गुमेता पनि ओपनर रितले धैर्यतापूर्वक ब्याटिंग गरे। छैठौं नम्बरमा ब्याटिंग गरेका सन्दिप जोराले रितको साथ दिए। पाँचौ विकेटको लागि ५२ रनको साझेदारी गरेपछि जोरा रन बनाएर २१ औं ओभरमा आउट भए।
८५/५ बाट नेपाल सानो योगफलमा समेटिने खतरा थियो तर सातौँ नम्बरमा ब्याटिंग गर्न आएका हरि बहादुर चौहानले रितलाई राम्रो साथ दिए। छैठौं विकेटको लागि दुवैले शतकीय ( १०१ रन ) साझेदारी गरे।
रित ७६ रन बनाएर आउट भए भने अर्धशतक पुरा गरेर हरि पनि ५६ रन बनाएर आउट भए। रितले १२६ बलमा ४ चौका तथा हरिले ७८ बलमा २ चौका र १ छक्का प्रहार गरे। कुशल मल्ल खाता नखोली आउट भए।

४४ औं ओभरमा रित आउट भएपछि भने नेपालले लगातार विकेट गुमाएको थियो। १८६/६ बाट २० रन जोड्दा बाँकी ४ विकेट नेपालले गुमाउन पुग्यो।
यु-१९ एसिया कप अन्तर्गत नेपाल समुह ‘बि’ मा रहेको छ जुन समुहमा आयोजक श्रीलंका सहित बंगलादेस र युएई रहेका छन्। यस्तै समुह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा एक-अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछन्।
नेपालले सेप्टेम्बर ६ तारिखमा आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ। यस्तै सेप्टेम्बर ८ मा बंगलादेशसंग दोश्रो खेल तथा सेप्टेम्बर १० मा युएईसंग तेश्रो खेल खेल्नेछ। सेप्टेम्बर १२ मा सेमीफाइनल र सेप्टेम्बर १४ मा फाइनल खेलिनेछ।




