नेपाल फाइनल नजिक

नेपाल भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलको फाइनल नजिक पुगेको छ । बिहीबार भएको अन्तिम खेलमा भुटानलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो ।

नेपाललाई जित दिलाउन कप्तान प्रदिप लम्सालले दुई गोल गरे । यस्तै अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले एक गोल गरे ।

कल्याणी रंगशालामा खेलको ५ औं मिनेटमा प्रदिपले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९ औं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । 

दोस्रो हाफमा नेपालले थप ३ गोल गर्यो । खेलको ४८ औं मिनेटमा प्रदिपले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए ।

खेलको ७५ औं अशिमले गोल गर्दा नेपालको अग्रता ४-० को बन्यो ।  खेलको ८५ औं मिनेटमा क्रिसले गोल गर्दै नेपाललाई ५-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा सुगम जिम्मीले गोल गर्दै नेपाललाई ६-० जित दिलाए । 

जितसँगै नेपालले ४ खेलबाट ९ अंक जोडेको छ । भुटान जित विहिन बन्दै घर फर्किएको छ ।  

अब भारत र बंगलादेशबीचको खेलले फाइनल पुग्ने टोलीको तय हुनेछ । भारतको ९ अंक रहेको छ  ।  बंगलादेशको ६ अंक रहेको छ । 

फाइनल पुग्ने सम्भावना भारतको बलियो रहेको छ । बंगलादेशलाई भने फाइनल पुग्ने भारतलाई फराकिलो अन्तरले हराउनु पर्ने हुन्छ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटानले प्रतिस्पर्धा गरिरहेका छन् । र, शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

प्रतियोगिताको पहिलो खेलमा खेलमा नेपाल भारतसँग ५-० गोल अन्तरले पराजित भएको थियो । तर, नेपालले दोस्रो खेलमा श्रीलंकालाई २-० ले हराएको थियो ।  यस्तै मंगलबार नेपालले बंगलादेशलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो ।