वाई वाई टँुडिखेल तीज मेला सुरु

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यवहारमा उतार्न नसक्दासम्म महिलाका सवालमा भएका नीति तथा कानुनी अधिकारको अर्थ नरहने बताएका छन् । पुष्पाञ्जली फेसन एन्ड इभेन्ट प्रालिको आयोजना र इन्द्रेणी एकीकृत विकास केन्द्रको सहआयोजना बगरको पुरानो टुँडिखेलमा भएको वाईवाई टँुडिखेल तीज मेला २०७६को बिहीबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानले महिलाका सवालमा गरेका प्रगतिशील व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष तिमिल्सिनाले व्यवहारतह प्रयोग र प्रचलनमा नआँउदासम्म नियम कानुनमा समेटिएका अधिकारको अर्थ नरहने उल्लेख गरे । ‘एसियाका मुलुकहरु महिलाको प्रतिनित्व र सहभागिताको दृष्टिले नेपाल अग्रणी स्थानमा छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘संविधान र कानुनमा महिलाका सवालमा धेरै अधिकारको व्यवस्था भएको छ । तर व्यवहारमा प्रयोग नगर्दासम्म ति अधिकार कागजमै सिमित रहने छन ।’ अध्यक्ष तिमिल्सनाले एसियाली मुलुकहरुमा नेपाल सबभन्दा बढी महिला जनप्रतिनिधि निर्वाचित गर्ने मुलुक भएको दावी गरे ।

खुल्ला प्रतिस्पर्धाले भन्दा पनि आरक्षणको कारण महिलाको सहभागिता बढाउनुले नेतृत्व र व्यक्तित्व विकास नहुने चर्चा गर्दै उनले आरक्षण सदाको लागि बनाउन नहुने तर्क गरे । उनले आरक्षणबाट प्रतिनिधित्व गर्नेलाई अझै पनि कमजोर मानिने गरिएको उल्लेख गरे ।

विगतमा महिलालाई दोस्रो दर्जाको नागरिकको व्यवहार गर्दा हरितालिका तीजलाई स्वतन्त्रताको पर्वको रुपमा मनाइने गरिएको स्मरण गराउर्दै अध्यक्ष तिमिल्सिनाले आगामी दिनमा तीजलाई फरक ढंगले बुझेर मनाउनुपर्ने बताए । ‘विगतमा तीजमा महिलाले विरह दुख व्यथा, पीडा पोख्ने गर्थे,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘अब राजनीतिक अधिकार प्राप्तिपछि तीजलाई महिलाको सशक्तिकरणसंग जोड्न आवश्यक छ ।’

अध्यक्ष तिमिल्सिनाले नेपाल समाजवादी व्यवस्थामा गएपछि राजनीतिक, जातीय, क्षेत्रीय, सांस्कृतिक लगायत सबै प्रकारका विभेदको अन्त्य हुनु पर्ने बताए । उनले सुशासन र विधिको शासन कायम हुनु पर्ने धारणा राखे ।

प्रतिनिधिसभाका सदस्य दुर्गा विकले संविधान र कानुनले व्यवस्था गरेका हक अधिकार सुनिश्चित गर्दै महिलाहरु आत्म निर्भर बन्नुपर्ने बताइन् । गण्डकी प्रदेशसभाका सदस्य रामजी बरालले महिला आन्दोलनले नयाँ गति लिएको वर्तमान अवस्थामा तीज पर्वलाई समेत नयाँ ढंगले मनाउनुपर्ने धारणा राखे ।

गण्डकी प्रदेश सभाका सदस्य विन्दुकुमार थापाले महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र विभेदका घटना तीजमा गीतको माध्यमबाट उजागर गरिने बताए । गण्डकी प्रदेश सभाका सदस्य गायत्री गुरुङले तीज पर्वका राम्रा पक्षहरुको प्रवद्र्धन र विकृति र विसंगतिलाई हटाउनुपर्ने बताइन् ।

कार्यक्रममा अग्रज गायिका बाबा राणा सम्मान गरिएको थियो । शिक्षा तर्फ भोलानाथ पराजुलीलाई मरणोप्रान्त सम्मान गरिएको थियो । अन्नपूर्ण गाउँ पालिकाका अध्यक्ष युवराज कुँवर, पोखरा महानगरपालिका वडा नम्बर १का अध्यक्ष शारदा पराजुली, पुष्पाञ्जली फेसन एण्ड ईभेन्टका प्रोपाइटर शोभा गौतम इन्द्रेणी एकिकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी, सचिव विनाका शर्मा, संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली, टोल सुधार समन्वय समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङ, आमा समूहका अध्यक्ष राधा बरालअधिकारी, प्रायोजकको तर्फबाट सुरेन्द्र खनाल, मेला प्रचार समितिका संयोजक दिनेश शर्मा, शिक्षा तथा स्रष्टा सम्मान समितिका संयोजक कृष्ण उदासी लगायतले तीज पर्वको बारे बोलेका थिए ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ तीज मेला भदौ १७सम्म सञ्चालन हुनेछ । महिलाको गायन तथा प्रस्तुतिको विकासमा सहयोग र महिलाहरुले उत्पादन गरेको बस्तुहरुको प्रर्दशनी गर्ने उद्देश्यले गरिएको मेलामा तीज गीत, छेलो, टपरी गास्ने, म्युजिकल चियर प्रतियोगिता गरिने छ । स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति हुने मेलामा बाल उद्यान, स्थानीय उत्पादनको प्रर्दशन र औद्योगिक तथा व्यापरिक स्टल राखिएका छन् ।