भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।
भारतको कल्याणी रंगशालामा बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भूटानलाई पराजित गरेमा मात्र फाइनलमा स्थान बनाउने छ ।
त्यस्तै हिजो भएको खेलमा नेपालले साविक विजेता बङ्गलादेशलाई ४–१ गोलअन्तरले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो ।
नेपाल र बंगलादेशको समान ६/६ अङ्क छ तर नेपाल हेड टु हेडको आधारमा बंगलादेशभन्दा अगाडि छ । बङ्गलादेश अङ्क तालिकाको तेस्रो स्थानमा छ ।
यस्तै भारत ९ अङ्कका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । श्रीलङ्का ३ अंकका साथ चौथो स्थानमा छ भने अंकविहीन रहेको भूटान अन्तिम स्थानमा छ ।
बिहीबार नै हुने अर्को खेलमा भारतले बंगलादेशको सामना गर्नेछ । नेपालले भूटानलाई पराजित गरे फाइनल पुग्ने सम्भावना लगभग पक्का हुनेछ भने यदि बंगलादेशले भारतलाई फराकिलो अन्तरले पराजित गरेमा गोलअन्तरमा नेपाल पछाडि पर्ने सम्भावना रहन्छ । प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, श्रीलङ्का र भूटान सहभागी छन् ।




