पाल्पामा ट्युशन पढ्न विद्यालयमा जाँदै गरेकी एकजना छात्राको बेहोस भएर मृत्यु भएको छ। मृत्यु हुनेमा रम्भा गाउँपालिका–५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा कमला फाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षकले बताएका छन्।
रम्भा गाउँपालिका–६ हेक्लाङ घर भएकी उनी बुधबार विहान ८ बजे ट्यूशन पढ्न जाँदै गर्दा विद्यालय नजिकै बेहोस भएकी थिइन्। उपचारको लागि तानसेनतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो। उनीसँगै रहेका अन्य ६ जना छात्रा र १ जना छात्र पनि बेहोस भएका छन्।
बेहोस भएका मध्य तीनजनाको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभास र दुइजनाको युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको छ। अन्य दुइजनाको भने ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षकले बताए। बेहोस भएका सातजनाको अवस्था सामान्य रहेको उनको भनाई छ। विद्यार्थी के कारणले बेहोस भन्नेबारे अहिलेसम्म खुलेको छैन।






