ट्राफिक नियम मिचेपछि काठमाडौंको नयाँ बानेश्वरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
मन्त्रीको झण्डावाल गाडी बा २ झ ४८६२ नम्बरको गाडीले ट्राफिक नियम मिचेपछि सवैलाई नियम कानून बरावर हो भन्ने हेतुले ट्राफिक प्रहरीले ह्वील लक लगाएर कार्वाही गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी मशाशाखाका प्रमुख एसएसपी बशन्त पन्तले मन्त्रीका चालक शीवराम थापालाई जथाभावी पार्किङ गरेको भन्दै कारवाही गरेको बताएका छन् ।

जथाभावी पार्किङ गरेकोमा चालकलाई एक हजार जरिवाना गर्ने व्यवस्था रहेको एसएसपी पन्तको भनाई छ ।
घटनासँगै नियम विपरित यातायात साधन पार्किङ गर्ने र नियम नमान्नेहरु जोकोही भएपनि ट्राफिक प्रहरीले नछाड्ने नीति लिएको पन्तले प्रष्ट पारैका छन् ।
पैदलयात्रु हिड्ने बाटो बढी मिचेर गाडी रोकिएपछि पैदलयात्रु मारमा परेका थिए । तर उक्त समयमा मन्त्री भने गाडीमा नरहेको प्रहरीले जनाएको छ ।
ट्राफिक नियम मिचेको देखेपछि नयाँ बानेश्वर क्षेत्रमा ह्वील लक बोकेर हिडेका ट्राफिक प्रहरीले ह्वील लक लगाएका थिए ।
ट्राफिक प्रहरीको यस्तो कदमको सर्वसाधरणले खुलेर प्रशंसा गरेका छन । ट्राफिक प्रहरीले मन्त्रीको झण्डावाल गाडी चिन्दाचिन्दै पनि ह्वील लक लगाएका थिए ।






