सुत्केरीलाई भाले उपहार

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण शुरु गरिएको हो ।

सुत्केरी महिलाका घरमै पुगेर जनप्रतिनिधिले पोषणयुक्त आहार प्रदान गरेका हुन् । मङ्गलबार बलेफी गाउँपालिका–८ स्थित भीरकुनामा सुत्केरी महिलाका लागि पोषण सामग्री प्रदान गरिएको छ । वडा नं ८ का वडाध्यक्ष चरीबहादुर तामाङले सात दिनकी सुत्केरी महिला सन्चमाया तामाङ र ङेमा तामाङको घरमै पुगेर एक÷एक भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइका सामग्री गाउँपालिकाको उपहार स्वरुप प्रदान गरेका थिए।

स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्दै स्वास्थ्यचौकीमै सुत्केरी हुने महिलाका लागि पोषण सामग्री प्रदान गरिएको वडासदस्य मन्दिरा कायस्थले जानकारी दिए । सोमबार वडा नं ७ मा पनि वडाध्यक्ष कार्केल लामाले सुत्केरी महिलाका घरमै पुगेर भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइ सामग्री प्रदान गरेका थिए।