शालिकराम पुडासैनीले होटलको कोठा ‘बुक’ गरेपछि…

पत्रकार शालिकराम पुडासैनीले होटलको २०२ नम्बरको कोठा बुक गरेका थिए । कोठा बुक गरेको एकछिनमै शालिकराम ३ः३२ बजे बाहिर निस्किन्छन् । प्

रहरीका अनुसार बाहिर निस्केको समयमा शालिकरामले डोरी किनेको हुनुपर्छ । जुन कुरा होटल सञ्चालकले पनि बयानका क्रममा उल्लेख गरेका छन् ।

प्रहरीले पोखरा बसपार्कस्थित श्रेष्ठ ब्रदर्स होलसेल पसलबाट शालिकरामले ५ मिटर डोरी किनेको सीसीटिभी फुटेजबाट देखिएको बताएको थियो । प्रहरीका अनुसार शालिकरम ३ः४५ बजे डोरी किनेर होटल फर्किन्छन् ।

डोरी किनेर होटल फर्केपछि मात्रै शालिकरामले भिडियो बनाएको प्रहरीको दाबी छ ।

जम्मा १३ मिनेट २५ सेकेण्डको भिडियो शालिकरामले खिचेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिलोपटक खिचिएको भिडियो ४ मिनेट ५८ सेकेण्ड र दोस्रोपटक खिचिएको भिडियो ८ मिनेट २७ सेकेण्डको रहेको छ । शालिकरामले  पहिलो भिडियो ३ः५४ बजे र दोस्रो भिडियो ४ः०१ बजे खिचेको बताइएको छ ।

प्रहरीको दाबी अनुसार शालिकरामले भिडियो होटल कंगारुमा नै खिचेका हुन् । भिडियो बनाउनुअघि पुडासैनीले काठमाडौँमा रहेकी श्रीमती सम्झनालाई ४ बजेर २२ मिनेट जाँदा फोन गरेको देखिन्छ ।

दिउँसै कोठामा गएका पुडासैनी राती करिब ९ बजेसम्म खाना खान नआएपछि होटलका कर्मचारी बोलाउन पुगे । भित्रबाट ढोकामा ‘लक’ लगाइएको थियो ।

बोलाउन जाँदा पनि पुडासैनी नआएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे । प्रहरीले ढोका फुटाएर हेर्दा पुडासैनी डोरीको पासोमा झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यतिबेला ८ बजेर ४९ मिनेट गएको प्रहरीको भनाई छ । 

४ बजेर ३६ मिनेटपछि पुडासैनीको मोबाइलमा कुनै कल डाटा नभेटिएकाले भिडियो रेकर्ड गरेको र श्रीमतीलाई फोन गरेको केहीबेरमै पुडासैनी झुण्डिएको हुनसक्ने प्रहरीको आशंका छ ।

‘के सेल्फी भिडियोमा नमस्ते गर्न सकिन्छ ?’ भनेर पत्रकार उमेश श्रेष्ठले आफ्नो ब्लग माइसन्सारमा विश्लेषण समेत गरेका छन् ।