गण्डकी प्रदेशका सांसद रामजीप्रसाद बराल (जीवन) ले नागरिकको चाहना अनुरुप समृद्ध तथा नयाँ नेपाल निर्माणको जिम्मेवारी युवा विद्यार्थीको भएको बताएका छन् । पोखरा १९ पुरुन्चौरस्थित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसमा आयोजित कार्यक्रममा बरालले विद्यार्थीले अभिभावक र देश बनाउन ठूलो कसरत गर्नुपर्नेमा जोड दिए ।
अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले आयोजना गरेको कार्यक्रममा सांसद बरालले प्राविधिक शिक्षा आर्जन गरेका विद्यार्थीले समाजमा भएका अपेक्षा पूरा गर्नुपर्ने बताए । उनले तीजसँगै अन्य समयमा प्रस्तुत हुने गीतमा परिर्वतन हुनु जरुरी रहेको भन्दै देश समृद्धिको अभियानलाई सघाउने गीत तथा संगीत आवश्यक रहेको बताए । पार्टी एकतापछि शक्तिशाली नेपाल कम्युनिस्ट पार्टीलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी र आक्रमण सुरु भएको उल्लेख गर्दै उनले विद्यार्थी सचेत हुनुपर्ने समय आएको जनाए ।
कार्यक्रममा क्याम्पस प्रमुख चन्देश्वरप्रसाद श्रीवास्तव, नेकपा जिल्ला कमिटी सदस्य क्षितिज सापकोटा, अनेरास्ववियु कास्की अध्यक्ष शेखर गौतम, अखिल क्रान्तिकारीका अध्यक्ष भगवान बास्तोला लगायतले बोलेका थिए ।




