नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गजेन्द्रबहादुर महतले चितवनमा सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई जात्राको संज्ञा दिएका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले चितवनमा चलेको ‘जात्रा’बारे श्रम मन्त्रालय र गृह मन्त्रालय बढी सचेत हुनुपर्ने पनि बताए ।
देशमा धेरै व्यक्ति बेरोजगार भएकाले चितवनमा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीको संख्या बढेको सांसद महतको भनाइ छ । उनले भने ‘श्रम मन्त्रालय अहिले रोजगारीमा जान पनि नदिने रोजगारी भएकालाई पनि फिर्ता ल्याएर बेरोजगार बनाइदिने । अनि रोजगारी दिन पनि नसक्ने । त्यसैले हुलको जत्था जम्मा भएको छ,’ ।
त्यस्तै गृह मन्त्रालयले सामान्य व्यक्तिको समस्या, गुनासो सम्बोधन नगर्ने र हेर्नुपर्ने मुद्दा नहेरेर नहेर्नु पर्ने मुद्दा हेरिरहेको पनि उनले आरोप लगाए । उमेर पुगेका युवक युवती होटलमा बसेको विषयमा निगरानी गर्ने गृह मन्त्रालयले सर्वसाधारणको जायज गुनासो सम्बोधन नगर्दा यो अवस्था आएको सांसद महतले बताएका छन् ।










