जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् । उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महीनाको भाडाबापतको रकम नदिएर कार्यालय अनेत्रै भवनमा सार्न थालेपछि घरधनी गोविन्दले तालाबन्दी गरेको स्थानीय देवेन्द्र खड्काले बताएका छन् ।
सो वडाका वडाध्यक्ष बहादुर खड्काले वडा कार्यालयले प्रत्येक महीना घरभाडाबापतको रकम दिँदै आएको दाबी गरेका छन ।“घर भाडाको रकम प्रत्येक महीना दिएकै छौँ, साउनको बाँकी छ”,उनले भने , “कार्यालय सार्ने कुरो त भएको हो, सारिएको छैन, किन ताला लगाए मैले नि बुझेको छैन ।” वडा कार्यालयमा तालाबन्दी गरिएपछि वडा कार्यालयबाट हुने सबै प्रकारका सरकारी कामकाज प्रभावित भएको स्थानीयवासी बताउँछन् ।
घरधनी गोविन्द खड्काले घरभाडा नदिएकाले आफूले तालाबन्दी गरेको स्वीकार गरेका छन । उक्त वडा कार्यालयको भाडाबापतको मासिक रकम कर कट्टीबाहेक रु पाँच हजार २०० सम्झौता भएको बताइएको छ ।






