रवि लामिछानेका समर्थक विरुद्ध यस्तोसम्म !

जिल्ला प्रशासन कार्यालय, चितवनले सदरमुकाम भरतपुरका तोकिएको स्थानमा पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै सोमबार बिहान ६ बजेदेखि उक्त नियम लागु हुने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्‍नेतद्वारा जारी आदेशमा ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनसम्बन्धी अनुसन्धान, अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुबाट अशान्ति हुन सक्ने देखिएको’ उल्लेख छ । 

आदेशमा भनिएको छ “मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको क्षेत्रमा हुलदंगा र अशान्ति हुनसक्ने देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम भदौ ९ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो आदेश जारी गरिएको छ ।”

आदेशमा वाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठी चोकसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा हुन पाइने छैन  ।

यसैगरी, वाईपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक-नारायणी मावि चोक–कृषि ज्ञान केन्द्र हुँदै लोकमार्गतर्फको चौबीसकोठी चोकसम्म, वाईपास सडकतर्फको घरेलु कार्यालयचोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पतालचोकसम्मको क्षेत्रमा त्यसरी जम्मा हुन निषेध गरिएको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणपछि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै भरतपुरमा दिनहुँ प्रदर्शन हुँदै आएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उक्त आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रर्दशनकारी र प्रहरी बीच झडप हुँदा आइतबार साँझ केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । सो क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले  दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो ।

यस्तो छ आदेश