तीजगीतमा समृद्धि महिला समूह प्रथम

पोखरा वृद्धाश्रमको सांस्कृति विकास उपसमितिले आयोजना गरेको तीजगीत प्रतियोगितामा समृद्धि महिला समूह प्रथम भएको छ । प्रतियोगितामा दोस्रो जागरण आमा समूह, तेस्रो ढुंगेसाँघु सीतापाइला आमा समूह र सान्त्वना नमुना आमा समूह बनेका छन् ।

विजयी समूहहरुले क्रमश ६, ४, २ र १ हजारसहित प्रमाणपत्र पाएका छन् । उत्कृष्ट भेषभूषामा मिलनसार आमा समूह र सीतापुरी युवा क्लबले उत्कृष्ट नृत्यको उपाधि पाएका छन् । मिलनसार र सीतापुरीले प्रमाणपत्रसहित १, १ हजार पुरस्कार पाएका छन् । विजयी समूहहरुलाई पोखरा १७ का वडा सदस्य वैकुण्ठ भण्डारी र सांस्कृति विकास उपसमिति अध्यक्ष नगेन्द्र भण्डारीले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिताका निर्णायकमा लोकगायक, गायिकाहरु अम्बिका भण्डारी, गंगा त्रिपाठी र र सुरज आचार्य थिए ।

यसअघि भएको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले वृद्धवृद्धालाई सांस्कृतिक परम्परा र मनोरञ्जन दिने कार्यक्रम उल्लेखनीय भएको बताए । उनले वृद्धवृद्धाको हकहितका लागि राज्यले विषेश नीति निर्माण गर्नुपर्नेमा पनि जोड दिए । पोखरा महानगरका कार्यपालिका सदस्य राधिका शाही योगीले तीज तडकभडक नगरी सद्भावपूर्ण तवरले मनाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा नेकपा पोखरा १७ अध्यक्ष सुवास ढुंगाना, नेकपा गण्डकी सदस्य मनुमाया खत्री, नेपाली कांग्रेस पोखरा १७ सभापति देवीराज आचार्य, पोखरा उद्योग वाणिज्य संघका सदस्य ऋषिराम शर्मा, विरौटा क्लबका अध्यक्ष डिआर भट्टराई, शोभा भण्डारी लगायतले बोलेका थिए ।

सांस्कृतिक उपसमिति अध्यक्ष नगेन्द्र शर्मा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव सिर्जना शर्मा र सञ्चालन कोषाध्यक्ष सीता काफ्ले भण्डारीले गरेका थिए ।

सो अवसरमा सांस्कृतिक विकास उपसमितिलाई सुभारु शुद्ध पिउनेपानीले ११ हजार १ सय ११, कांग्रेस पोखरा १७ सभापति देवीराज आचार्यले ११ हजार ५ सय ५, पुस्तक व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष ऋषिराम शर्मा भण्डारी १० हजार ५ सय, गण्डकी सुनचाँदी पसलले १० हजार, जेके ट्रेडर्स ६ हजार, ढुंगेसाँघु बोर्डिङ ५ हजार, माछापुच्छ«े सहकारी ५ हजार, इन्द्रा राना ५ हजार, डिआर भट्टराई ३ हजार, वैकुण्ठ भण्डारी १ हजार ५ र देवराज भण्डारीले १ हजार ५ दिएका थिए ।

पोखरा वृद्धाश्रमको संस्कृतिक विकास उपसमितिले गत वर्षदेखि तीज विशेष कार्यक्रम सुरु गरेको हो । उपसमितिले १ लाखको अक्षयकोषसमेत स्थापना गरेको छ । उपसमिति अध्यक्षमा नगेन्द्र भण्डारी, सचिव सिर्जना शर्मा, कोषाध्यक्ष सीता भण्डारी काफ्ले, सदस्यमा अनिषा बराल, गोमा पराजुली, रवि भण्डारी र पदमबहादुर कार्की छन् ।