ताजा समाचार

भाद्र ८ गते २०७६

पतिको स्मृतिमा चन्द्रावतीले ल्याइन् शोककाव्य

चन्द्रावती वाग्ले पोखरा महानगरपालिकाकी अधिकृत हुन् । गत वर्ष श्रीमान् गुमाएकी उनले शोकको पीडालाई सिर्जनात्मक रुप दिएकी छन् । पति हरिश्चन्द्रको वार्षिकीमा चन्द्रावतीको शोककाव्य हरिश्चन्द्र शनिबार सार्वजनिक भएको छ ।

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान पोखरा र जागरण अभियान नेपाल पोखराले आयोजना गरेको कार्यक्रममा व्यास नगरपालिकका मेयर बैकुण्ठ न्यौपाने र प्राध्यापक दीपकचन्द्र वाग्लेले शोककाव्य सार्वजनिक गरेका हुन् ।

जागरण अभियान नेपालले प्रकाशन गरेको कृतिको मूल्य १ सय ५ रुपैयाँ छ । शोककाव्यमा चन्द्रावतीले श्रीमान्को स्मृति र सहयात्राका सम्झनालाई कवितात्मक रुप दिएकी छन् ।

मेयर न्यौपानेले पतिको शोकमा विह्वल भएरमात्र जीवन सहज नहुने भन्दै सिर्जनात्मक रुपमा अघि बढ्नु उल्लेखनीय भएको बताए । शोकबाट सुरु भएको साहित्यिक यात्रा अध्ययन, मननसहित अघि बढ्नुपर्नेमा उनले जोड दिए । चन्द्रावतीले यसपालिका तीजका ३ गीत पनि बजारमा ल्याएकी छन् ।

समीक्षक जगन्नाथ रेग्मीले पत्नीको स्मृतिमा लेखिएको गौरी जनमानसमा निकै लोकप्रिय रहेको उल्लेख गर्दै पतिको स्मृतिमा प्रकाशित शोककाव्यको विशेष स्थान रहेको बताए । काव्यकार वाग्लेले आँसु, पीडा र अनुभवलाई कविताको रुप दिएको बताइन् । उनले भनिन्, ‘रोएर बसेको भए जीवनको गति नाजुक हुन्थ्यो । सिर्जना नै मेरो साथी बन्यो । त्यही साथी आज सबैसामु आएको छ ।’

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान पोखरा अध्यक्ष छन्दिका त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमा प्राध्यापक दीपकचन्द्र वाग्ले, जागरण अभियान नेपाल पोखरा अध्यक्ष छन्दमणि, पोखरा महानगरका वसन्त चालिसे, नारी प्रतिभाका महासचिव लक्ष्मी थापा, सचिव प्रतिभा शर्मा लगायतले बोलेका थिए ।