ताजा समाचार

भाद्र ८ गते २०७६

२१४ औं साहित्य शृङ्खलामा पुडासैनीको नयाँ पुस्तक

साहित्य शृङ्खला पोखराले शनिबार आयोजना गरेको २१४ औं शृङ्खला एवं नियमित रचनावाचन कार्यक्रममा नयाँ मुक्तक कृति चड्याम्म सार्वजनिक गरिएको छ ।

प्रलेस गण्डकी अध्यक्ष लोकबहादुर थापा लगायत सहभागीले शृङ्खलाका अध्यक्ष लोकनाथ पुडासैनीको चड्याम्म मुक्तक सङ्ग्रह सार्वजनिक गरेका हुन् । कृतिबारे गण्डकी साहित्य सङ्गमका अध्यक्ष डा कृष्णराज अधिकारीले प्रकाश पारेका थिए ।

संग्रहका २११ वटा मुक्तक छन् । डा अधिकारीले यस सङ्ग्रहमा सङ्गृहित मुक्तकले मुलुकको राजनीतिक अव्यवस्था, नेताहरूका गलत प्रवृत्ति, अवाञ्छित कृयाकलाप, महिला मुक्ति , छिमेकीको हेपाहा प्रवृत्ति एवम् समसामयिक सन्दर्भमा दरिलो ढङ्गले आवाज उठाएको बताए । कतै कतै क्रान्ति चेत र विद्रोहको आवाजलाई सशक्त ढङ्गले उठान गर्न बाँकी रहेको उनले औंल्याए ।

प्रलेस कास्की अध्यक्ष नारायण मरासिनीले गोरखाको बारपाक सुलीकोट ८ जराङबेँसीमा जन्मिई साहित्यमा स्रष्टाको रुपमा पुडासैनीलाई चिनाए । पुडासैनीका हालसम्म आधा दर्जन कृति प्रकाशित भइ सकेका छन् ।

सङ्गम सांस्कृतिक मञ्च नेपाल पोखराका विकास लुङ्गेली, काजी गाउँले, सङ्गिता श्रेष्ठ, रोशन लामाहरूको साङ्गितीक प्रस्तुति रहेको उक्त कार्यक्रममा मुक्तक मञ्च पोखराका अध्यक्ष प्राञ्जल, प्राज्ञ सूर्य खडका बिखर्ची, बाम बुद्धिजीवी रामराज रेग्मी, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल, साहित्यकार अल्पविराम लगायतले बोलेका थिए ।

शृङ्खलामा विजया सुवेदी उदासी, छविलाल आचार्य, सन्तोष भुसाल, इन्द्र राना प्रतीक, अल्पविराम, शरण आँसु, पद्मराज ढकाल, दिनेश भण्डारी, लीला पण्डित लगायतले रचनावाचन गरेका थिए । साहित्य शृङ्खला पोखराका कार्यवाहक अध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन काजी गाउँलेले गरेका थिए ।