यस्तो रहनेछ आजको मौषम

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

देशको पश्चिमी  भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र ती स्थानमा यात्रा गर्दा सर्बसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्युनचापीय रेखाको पश्चिम भाग औसत स्थान भन्दा केही उत्तर तर्फ रहेको र बंगालको खाडीमा उडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यूनचापीय वायुप्रणाली रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले देशका मध्य र पश्चिमी भूभागका धेरै स्थानमा बदली भइ केही स्थानमा वर्षा भइरहेको र पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको जनाइएको छ ।  आज दिउँसो देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने तथा पश्चिम भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यसैगरी आज राति देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने जनाइएको छ । 
सोमबार र मंगलबार पनि मौसममा बदली हुने मेघ गर्जन तथा चट्यांङ्गको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बाढी पूर्वानुमान महाशाखाले आज कमला, बाग्मति, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकालीमा वहाव बढ्ने जनाएको छ । रामेछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं,  रसुवा, धादिङ्ग, गोरखा, लमजुङ्ग, दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु, अछाम, दार्चुला भइ बग्ने ससाना नदीमा समेत बहाव बढ्ने जनाइएको छ ।