ताजा समाचार

भाद्र ७ गते २०७६

नवलपरासीमा स्रस्टा सम्मान

नारी साहित्य समाज नवलपरासीले १५४ औं मोति जयन्तीको अवसर पारेर विविध कार्यक्रम गरेको छ । शनिबार आयोजित समारोहमा स्रस्टा सम्मान, कृति विमोचन, पुरस्कार वितरण तथा रचना वाचन लगायतका कार्यक्रमहरु गरिए ।

कार्यक्रममा नवलपरासीका स्रस्टा लेखराम सापकोटा, टीका सापकोटा, ईश्वर बा खनाल, स्याङ्जाका स्रस्टा मिलन समीर र चितवनका स्रस्टा सुरेन्द्र अस्तफललाई मोतिराम भट्ट प्रतिभा सम्मान-२०७६ तथा पाल्पाका स्रस्टा लक्षिमा ज्ञवाली घिमिरेलाई भागीरथी पौडेल स्मृति पुरस्कार-२०७६ बाट सम्मान गरियो ।

कार्यक्रमका सभापति कृष्णादेवी शर्मा र प्रमुख अतिथि गोविन्दराज बिनोदीले दोसल्ला ओढाएर सम्मानपत्र सहित स्रस्टालाई सम्मान गरेका थिए । कार्यक्रममा सन्जय भट्टराई, विक्रम ढकाल अनुराग, एसपी बराकोटी, तिलक भट्टराई अन्जान, कृष्ण समर्पण, पदम भुर्तेल, प्रितम भुजेल, सूर्य भट्टराई, बन्धुराज खनाल, पुष्प अधिकारी अञ्जली, आदर्श सुशील, लोकनाथ खराल, डा. श्यामप्रसाद न्यौपाने, दीनानाथ गौतम, मालती पौडेल, एकनारायण चापागाईं, मणि रत्न, सदानन्द जैसी, डिल्लीराज ज्ञवाली लगायतले रचना वाचन गरे ।

नारी साहित्य समाजका अध्यक्ष कृष्णादेवी शर्माको `कृष्णादेवी साहित्य र समाजसेवा´ पुस्तकको विमोचन पनि गरियो । लेखक शर्मासँगै गोविन्दराज बिनोदी र लकास पौडेलले पुस्तकको विमोचन गरेका हुन् । साहित्य मार्फत समाजसेवा गरिरहेकी शर्माको जीवनवृत्त यस पुस्तकमा समेटिएको छ ।

समीक्षक पुष्प अधिकारी अञ्जलीले साहित्य र समाजसेवामा लागेर कमाएको योगदानको सम्पूर्ण चित्रण पुस्तकमा अटाएको बताए ।


Loading...