तीजको शुभकामना आदानप्रदानसहित ३ बागलुङे चेली सम्मानित

बागलुङ समाज पोखराले हरितालिका तीजको अवसरमा विभिन्न क्षेत्रमा क्रियाशील ३ महिलालाई सम्मान गरेको छ ।

शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बागलुङमा जन्मिएर पोखरामा विभिन्न क्षेत्रमा पहिचान बनाउन सफल ३ महिलालार्र्इ समाजले सम्मान गरेको हो ।

सम्मानीत हुनेमा गण्डकी प्रदेश नीति तथा कार्यक्रमका सदस्य डा। भीमा ढुंगाना, सञ्चारिका समूह गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष जमुना वर्षा शर्मा र पोखरा महानगपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा छन् । उनीहरुलाई गण्डकी प्रदेश सभा सदस्य पियारी थापाले सम्मान पत्र र दोसल्लासहित सम्मान गरेकी हुन् ।

प्रदेश सभा सदस्य थापाले तीज पर्वको अवसरमा बागलुङे चेलीको सामाजिक योगदानको मूल्याकंन गरी सम्मान गर्नु निकै सकारात्मक भएको बताइन् । उनले परिवर्तित समयसँग पर्वहरु मान्ने र मनाउने परिपाटि बदलिएको भन्दै पर्वको ऐतिहासिक सांस्कृतिक एवं सामाजिक महत्वलाई जोगाउनुपर्ने विचार राखिन् ।

प्रदेश सभा सदस्य कोपिला बोहोराले सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै पर्व मनाउनु पर्ने वताइन् । पोखरा ८ का वडा अध्यक्ष रुद्र बरालले तीज चेलिबेटीको जमघट र आत्मियता साटासाट गर्ने विशेष पर्व भएको बताए ।

समाजका पूर्व अध्यक्ष अमृतलाल श्रेष्ठ, बागलुङ समाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमला गिरी, वडा प्रहरी कार्यालय वैदामका प्रहरी निरीक्षक विजय भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमका सम्मानित व्यत्तित्वहरुले सम्मानले माइती ठाउँको मायालाई झनै प्रगाढ बनाउँदै कर्मप्रति थप लगनशिल हुन प्रेरित गरेको बताए ।

कार्यक्रममा स्व. प्रेमप्रसाद सापाकोटा स्मृति पुरस्कारबाट एसइइमा परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल आजीवन सदस्यका छोराछोरी मध्ये एसइइमा उत्कृष्ट नतिजा ल्याउन सफल मनोज श्रीस र विनिता पुनलाई नगदसहित सम्मान गरिएको थियो । उनीहरुलाई पुरस्कारका संरक्षक रीता सापकोटाले नगद प्रदान गरिन् । प्रेमप्रसाद बागलुड समाजका आजीवन सदस्य थिए ।

समाजका अध्यक्ष कुलचन्द्र शर्माले बागलुङे चेलीको कर्मले बागलुङको पहिचानलाई अझै उचाइ दिएको बताए । सम्मान कार्यलाई आगामी दिनमा निरन्तरता दिदै सामाजिक उत्तरदायित्व बहन गरेर समाज अगाडि बढ्ने उनले बताए ।

समाजका सचिव डिल्लिप्रसाद शर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिल पाण्डे र कार्यक्रम संयोजक वर्ण वन्तले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमपश्चात बागलुङ समाजमा आवद्ध झण्डै ८ सय महिलाले आपसमा शुभकामना साटासाट गरेका थिए ।