मुलुक समृद्धितर्फ उन्मुख : डा. तुलाधर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–पोखरा जनसम्पर्क मञ्चको कार्यकर्ता भेटघाट कार्यक्रम शनिबार पोखरामा सम्पन्न भयो ।

भेलाको उद्घाटन नेकपा नेता एवं पूर्व मन्त्री डा. गंगालाल तुलाधरले गरे । उक्त अवसरमा बोल्दै नेता तुलाधरले मुलुक समृद्धितर्फ उन्मुख भएको बताए । उनले नेकपा सरकारले गरेको जत्तिको काम कुनै पनि सरकारले गर्न नसकेको बताए ।

नेता तुलाधरले सरकारले सोचे अनुरुप गति लिन नसके पनि आफ्नो समयसीमा भित्र उद्देश्य पूरा गरेरै छाड्ने स्पष्ट पारे ।

‘लामो समयदेखि भद्रगोल अवस्थामा रहेको मुलुकलाई लिगमा ल्याउन निकै समय लाग्यो । विस्तारै पार्टीको एकता सकिंदैछ, अब सरकारले आफ्नो रफ्तार लिन्छ’, नेता तुलाधरले भने, ‘तपाइँहरु निराश नहुनुस्, आफ्नो र पार्टी काममा सक्रिय भएर लाग्नुस् ।’

‘अबको उपनिर्वाचन पनि पार्टीले जित्नै पर्ने उनले स्पष्ट पारे । यो मिनी जनमत संग्रह हो । यसले पार्टीको अवस्था कस्तो छ भन्ने देखाउँछ । त्यसैले जहाँ जहाँ चुनाव हुँदैछ त्यहाँ त्यहाँ सक्रिय भएर लागौं आफ्नो उम्मेदवार जिताऔं’, उनले भने ।

कास्की २ मा रविन्द्र अधिकारी गुमाउनु पर्दाको पिडा आफू र पार्टीले अझै झूल्न नसकेको स्पष्ट पार्दै उनले त्यो पिडालाई शक्तिमा बदलेर चुनावमा खटिन निर्देशन दिए ।

नेकपा नेता एवं गण्डकी प्रदेशसभा सदस्य रामजी बराल जीवनले पार्टी र सरकार सामू धेरै चुनौतीहरु भए पनि त्यसलाई चिरेर हिंड्नु नै अबको लक्ष्य भएको बताए । उनले कास्की २ को चुनाव नजिकिंदै गरेको अवस्थामा त्यो चुनाव जित्नु अहिलेको एकमात्र लक्ष्य भएको बताए । उनले चुनाव पार्टीको प्रतिष्ठा जोगाउनकै लागि भए पनि जित्न आवश्यक रहेकाले चुनावमा खटिन निर्देशन दिए ।

नेकपा नेता एवं नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले पार्टीको एकता अझै नसकिएको अवस्थामा कोही पनि आत्तिन र विचलित हुन आवश्यक नभएको बताए । उनले यो मुलुकको समृद्धि सरकारको मुख्य लक्ष्य भएकाले त्यसमा सघाउन नेता भण्डारीले आग्रह गरे ।

नेकपा नेता रामबहादुर भण्डारीले विगतका सबै कुरा भुलेर पार्टी एकता ऐतिहासिक काम भएकाले यसमा कोही कसैले चित्त दुखाउन नपर्ने बताए । उनले पार्टीका लागि त्याग र बलिदान दिन सक्नु नै कार्यकर्ताको धर्म भएको भन्दै पद नपाउँदैमा कोही रिसाउन नपर्ने स्पष्ट पारे ।

नेकपा कास्कीका सचिव बखानसिंह तमुले विगतको दिन भुलेर अब हुने निर्वाचनमा पार्टीका सबै पंक्ति एकढिक्का भएर लाग्न आवश्यक भएको बताए ।

मञ्चका संयोजक वीरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक रेशम सिंखडा, सचिव कृष्ण धरेल, नेताहरू वेनी पाठक, रामकृष्ण दुवाडी, ईश्वरकुमार श्रेष्ठ, सरस्वती श्रेष्ठ सरु लगायतले बोलेका थिए ।