एउटै गोत्रमा विवाह गर्न किन हुँदैन ?

गोत्र शब्दको अर्थ हो बंश र कुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्राचीनतम् ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो ।

उदाहरणका लागि कुनै पनि ब्यक्तिको गोत्र भारद्वाज हो भने त्यस्को अर्थ हो त्यो ब्यक्तिको बंश वैदिक ऋषि भारद्वाजबाट शुरु भएको हो । अर्थात त्यो ब्यक्तिको जन्म ऋषि भारद्वाजको पिंढीमा भएको हो । एकै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने चलन हिन्दू धर्मशास्त्रमा पनि छ ।

विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप सप्त ऋषिको नामले चिनिन्छन् । यसमा आठौं ऋषि अगस्तिका सन्तान ‘गोत्र’ भनेर चिनिन्छन् ।

यसमा गोत्रको ठूलो महत्व छ । पुराणमा उल्लेख गरिएको छ कि यदि कुनै कन्या सहगोत्री छिन् भने उनीसँग विवाह गर्ने अनुमति जतिसुकै प्रेम भए पनि दिनुहुँदैन ।

विवाह छिन्ने समयमा गोत्रमात्र नभएर प्रवरको समेत ख्याल गर्नुपर्छ । प्रवर पनि ऋषिको नाम अनुसार फरक फरक हुन्छ । गोत्रको सम्बन्ध रगतले निर्धारण गरेको छ भने प्रवरको सम्बन्ध भने अध्यात्मले ।

मत्यस्य पुराणका अनुसार ब्राह्मणको साथमा सहगोत्रीको विवाह भयो भने अनिष्ठ हुने उल्लेख छ । धर्मसूत्रमा भनिएको छ ‘संगौत्राय दुहितरेव प्रयच्छेत्’ अर्थात समान गोत्रका पुरुषलाई कन्या दिनुहुँदैन । असमान गोत्रीयसँग विवाह नगरेमा ब्राम्हण च्यूत हुन्छ ।

यस्ता जोडीबाट जन्मिने सन्तान पनि गतिला हुँदैनन् । जानी–जानी सहगोत्री विवाह गरेमा महापाप लाग्ने र च्युत हुने धर्मशास्त्रमा उल्लेख छ ।