भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ ।
भारतको कल्याणीमा शुक्रबार भएको खेलमा नेपालले श्रीलंकालाई २–० गोलले हरायो । नेपालको जितमा शशांक बोहोरा र अशिम राईले गोल गरे ।
नेपालले दुवै गोल दोस्रो हाफमा गरेको थियो । शशांकले ४६औं मिनेटमा गोल गरेका थिए ।
८३ औं मिनेटमा अशिमले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । जितसँगै नेपालले दुई खेलबाट तीन अंक बनाएको छ ।
नेपाल पहिलो खेलमा आयोजक भारतसँग ५–० गोलले पराजित भएको थियो । नेपालले अब तेस्रो खेलम मंगलबार बंगलादेश र अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ ।
नेपाल सहित बंगलादेश, भारत, श्रीलंका र भुटान सम्मिलित प्रतियोगिताका खेल राउन्ड रोविनको आधारमा सञ्चालन भएको छ । प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ ।




