ताजा समाचार

भाद्र ६ गते २०७६

गण्डकीका जनप्रतिनिधिलाई अब दोहोरो सुविधा

गण्डकी प्रदेशमा बिहीवार स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७४ को दफा ८ संशोधन बहुमतले पारित भएको छ । अब यहाँका स्थानीय जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने छन्।

जनप्रतिनिधिले मासिक सुविधासँगै पेन्सन पनि पाउने भएका हुन्। संशोधनका लागि पेश गरिएको विधेयक बिहीवार पारित गण्डकी प्रदेशका प्रदेश सचिवालय सूचना अधिकारी राजेन्द्र न्यौपानेले बताए । जनमोर्चा र समाजवादी नेपालले भने विधेयकको विरोध गरे ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७४ को दफा ८ ले दोहोरो सुविधा निषेध गर्छ।

स्थानीय तहका उपप्रमुखले समेत गाडी सुविधा पाउने गरी ऐनमा सरकारले संशोधन विधेयक सभामा पेश गरेको थियो। उक्त सुविधाको व्यवस्था पनि पारित भएको छ। गाडी भने स्थानीय तह आफैंले स्रोत जुटाएर किन्नुपर्नेछ।

संशोधित विधेयक प्रदेशसभामा साउन ९ गते पेस गरिएको थियो। उक्त विधेयकमाथि १० गते सामान्य छलफल भयो र विधायन समितिमा पठाइयो। समितिमा ६ पटकसम्म बैठक बसेर विधेयक समितिबाट पास भएको विधेयक समितिका सभापति मोहन रेग्मीले बुधवार सदनमा फर्काएसँगै बिहीवार पास भएको हो।


Loading...