ओलीले नेपाललाई भने : मरिहालोस् भन्नेको स्वास्थ्यलाभको शुभकामना कसरी लिनु ?

उपचारका लागि सिंगापुर जानुभन्दा केही घण्टा अगाडि मात्रै सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनका पछिल्ला केही निर्णयबाट असन्तुष्ट वरिष्ठ नेता माधव कुमार नेपालबीच चर्को विवाद भएको छ।

बिहीबार विहान बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा ओली र नेपालबीचको मतभेद छताछुल्ल भएको हो।

ओली र नेपालबीच भएको विवादको केही अंशः

ओलीः म उपचारको लागि जाँदैछु। अब बाँकी सांगठनिक एकीकरणको काम उहाँ (प्रचण्ड) ले सम्हाल्नु हुने नै छ। सहमति अनुसार त्यसको निर्णय पनि उहाँले गर्नु हुनेछ, म सम्पर्कमा रहिरहने नै छु। अब सहमतिमा अघि बढ्नु पर्छ सबै जना।

नेपालः सहमतिको कुरा कहाँबाट आयो यहाँ? आफूले चाहिँ निर्णय गर्ने, अरुलाई सहमतिमा निर्णय गर्नु भन्ने? पहिला जसरी काम भएको थियो त्यसैगरी गर्नुपर्छ दाँयाबाँया हुन्न।

ओलीः (कड्किँदै) अध्यक्ष तपाईं हाे कि म? म हुँ । त्यसकारण मेरो सहमतिमा काम हुनुपर्छ।

नेपालः यहाँ सबै बराबर हौँ हामी। कोही तलमाथि छैन। तपाई खाली निहुँ मात्रै खोज्नुहुन्छ। सबैले भोट बराबरी पाएकाे हो।

ओलीः के निहुँ खोजेको छुँ मैले? निहुँ तपाईँले खोज्नु भएको छ। भित्रका कुरा बाहिर छताछुल्ल पारेर।

नेपालः जथाभावी भन्ने तपाईँले? छानविन समिति गठन गरौँ। कस्तो आपराधिक सोच तपाईँको?

अन्य सदस्यहरुः आज अध्यक्ष ज्यूलाई स्वास्थ्यलाभको शुभकामना दिन बैठकमा आएका हौँ हामी। वादविवाद छोडौँ।

नेपालः ठीक छ, त्यसमा कसकाे असहमति छ र? ल मेरो पनि स्वास्थ्यलाभको शुभकामना छ, अध्यक्षज्यूलाई।

ओलीः तपाईको स्वास्थ्य लाभको कामना चाहिन्न मलाई। मरिहालोस् भन्नेको स्वास्थ्यलाभको शुभकामना कसरी लिनु?

नेपालः त्यस्तो आपराधिक ढंगबाट सोच्ने मलाई? त्यस्तो निच ढंगले सोच्न मिल्छ?

ओलीः भएकै त्यस्तै देखिन्छ।

deshsanchar.com