ताजा समाचार

भाद्र ५ गते २०७६

अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता शुरु

पोखरामा ११ औं अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता बिहीबारबाट शुरु भएको छ । प्रतियोगिता शनिबार समापन हुनेछ ।

कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा कास्कीका २८ विद्यालयका १ सय ८६ विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

बुद्धिचाल खेल लिग चरणको आधारमा खेलाइनेछ । जसमा प्रत्येक खेलाडीले ८ पटकसम्म खेल्न पाउनेछन् ।

प्रतियोगिता उद्घाटन गर्दै बुद्धिचाल संघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष बाबराम पन्त र खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि पन्तले बुद्धिचाल खेलमा उमेर र उचाइले केही फरक नपर्ने बताए । बुद्धिचालले व्यक्तित्वका साथै अध्ययनमा समेत महत्वपूर्ण भूमिका खेल्ने पन्तले बताए ।

बुद्धिचालकै माध्यमबाट नेपाललाई विश्वस्तरमा चिनाउन सकिने हुँदा अध्ययनका साथै खेलमा पनि ध्यान दिन विद्यार्थीलाई उनले आग्रह गरे ।

कास्की जिल्ला बुद्धिचाल संघका संस्थापक अध्यक्ष समेत रहेका पन्तले चेस धेरै सोचेर खेलिने खेल भएकाले जीवनलाई अघि बढाउनसमेत यसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले नेपालमा खेलिने खेलहरूमध्ये बुद्धिचाल पनि महत्वपूर्ण भएको भन्दै यो खेलको गरिमालाई थप उचाइमा पुर्याउन आग्रह गरे ।

संघका अध्यक्ष शुक्रकुमार प्रधानले बु्द्धिचाल खेलको वृद्धि र विकासमा संघ सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाए ।

संघका उपाध्यक्ष मिनराज तिमिल्सिनाले बुद्धिचाललाई विश्वस्तरमा चिनाउन र विश्वस्तरका खेलाडी तयार गर्न विद्यालय र विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताए ।

संघका सचिव युवराज भण्डारीले विद्यालय स्तरका र जिल्ला स्तरका खेलमा संघको ध्यान जाने बताए ।

बुद्धिचालको महत्व
बुद्धिचाल सबै खेलभन्दा बौद्धिक खेल हो । यसलाई अंग्रेजीमा चेस भनिन्छ । दिनमा १ पटक बुद्धिचाल खेलेमा दिमाग कहिल्यै बुढो हुँदैन । सम्पूर्ण जीवनकालमा १६ वर्षे व्यक्तिले जस्तै दिमाग राम्ररी प्रयोग गर्न सकिन्छ । हाम्रो पौराणिक कथाहरुमा पनि चेस रावणले आविष्कार गरेको भन्ने उल्लेख पाइन्छ ।

विश्वमा पहिलो प्रकाशित पुस्तक ट्रोजन हर्षको सिरिज हो भने दोस्रो चेसकै हो । चेस अहिलेको जमानामा कम्प्युटर, अनलाइन, गेम आदिमार्फत पनि खेल्न सकिन्छ । विश्वमा ग्राण्ड मास्टरलाई हराउने कम्प्युटर १९८८ मा आविष्कार भयो । तर यसै ग्राण्ड मास्टर कम्प्युटरलाई धेरै पटक हराउने श्रेय पनि कास्पारोभलाई नै जान्छ । उनी २२ वर्षको उमेरमा नं. १ ग्राण्डमास्टर बनेका थिए र धेरै वर्षसम्म यस उँचाइलाई कायम राखे ।

मनोविज्ञहरुले पनि भनेका छन् चेसले दिमाग बढ्दछ । दैनिक पजल, कोठेपद बनाउने स्तम्भकारको जीवनको अन्तिमकालसम्म पनि दिमाग सक्रिय रहेको पाएर वैज्ञानिकले अनुसन्धान गर्दा दैनिक १ पटक आफ्नो लेभलकासँग चेस खेल्नेको दिमाग मरणकालसम्म पनि त्योभन्दा सक्रिय रहेको पाइयो । त्यसैले चेसको हाम्रो स्वास्थ्यका लागि अति महत्वपूर्ण भूमिका छ । संसारमा करिब १ अर्व जति मानिस चेस खेल्छन् । स्मरणशक्ति बढाउन चेस खेल्नुभन्दा राम्रो अरु उत्तम उपाय छैन ।


Loading...