पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट बूढीस्वाँरामा बुधबार राति आएको वर्षाका कारण पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको छ । पहिरोले पुरिएर बेपत्ता भएका रेमबहादुरको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन । ओछ्यानामा सुतेकै अवस्थामा पहिरोले पुरिएको पाइएको थियो ।
मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइँदै छ । रेमबहादुरकी श्रीमती छोरी भेट्न घरबाहिर गएकी थिइन् । वर्षा भइरहेका बेला घरभन्दा माथि रहेका सिँचाइ कुलोमा अत्यधिक पानी लगाएका कारण पहिरो गएको हुनसक्ने प्रहरीको अनुमान छ । पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको प्रहरीले जनाएको छ ।









