रवीन्द्र अधिकारी प्रतिष्ठानलाई मात्र जग्गा किन दिने : थापा

गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले रवीन्द्र अधिकारी प्रतिष्ठानलाई जग्गा दिन लागिएकोमा आपत्ति जनाएका छन् । उनले खुलेका सबै प्रतिष्ठानलाई सरकारले जग्गा दिन सके ठिकै हुने नत्र कसैलाई दिने, कसैले नदिने नगर्न आग्रह गरे ।

बुधबार प्रदेशसभाको विशेष समयमा थापाले ३ तहकै सरकारले प्रतिष्ठानलाई सहयोग गर्न लागेकामा पनि विरोध गरे । विपक्षी पार्टीका निधन भइसकेका नेताहरुको नामै सुन्न नचाहने सरकारले आफ्ना पार्टीका नेताहरुको नाममा मनग्गे बजेट छुट्याएर यसमा पनि राजनीति गरेको आरोप लगाए ।

थापा कास्की २ को प्रदेशसभाबाट निर्वाचित कांग्रेस सभासद हुन् भने रवीन्द्र अधिकारी कास्की २ मा नेकपाबाट निर्वाचित नेकपा सांसद तथा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए । अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनको स्मृतिमा प्रतिष्ठान बनाइएको हो । प्रतिष्ठानलाई संघीय सरकारले १ करोड, प्रदेश सरकारबाट १ करोड १० लाख र पोखरा महानगरले २० लाख बजेट छुट्याएका छन् ।